बझाङमा विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गुमाउँदै स्थानीय
2023/12/11, 5:23
 
ss

गत शनिबार बिहान खेतमा पानी लगाउन गएको बेला बझाङको केदारस्युँ गाउँपालिका–१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भयो। शनिबार बिहान चौडामबगरनजिक पर्ने धामीराटी सिंचाई कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको घटनास्थल मै ज्यान गएको हो।

१० बजेतिर गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका भण्डारी अबेर सााझसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा चौडामबगरको कान्द्वाल भीरमा रात आठ बजेतिर मृत फेला परेका थिए। घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेश चौधरीले विद्युतको हाइटेन्सन तार टाउकोले छुन सक्ने ठाउँमा रहेको र निहुरिएर उठ्ने क्रममा तारमा छोइएर करेन्ट लागेको हुन सक्ने बताए।

केदारस्युँ गाउँपालिकामा करेन्ट लागेर स्थानीयले ज्यान गुमाएको यो पहिलो घटना भने होइन। यस अघि २०७८ साल साउनमा वडा–१ कै ४८ वर्षीया उजलीदेवी बोहराको पनि राष्ट्रिय प्रशारण लाइन मै करेन्ट लागेर मृत्यु भएको थियो। घाँस काटन जानेक्रममा केदारस्युँको गाज्रा भन्ने बाटोमा हिंडिरहेको बेला विद्युतको पोलमा छोइदा करेन्ट लागेर उनको पनि घटनास्थलमै ज्यान गएको थियो।

लापरबाहीपूर्वक विद्युतको तार छोडिएका कारण यहाँ करेन्ट लागेर घाइते भएका घटनाहरु पनि दोहोरिरहेका छन्। गएको कार्तिक महिनामा मात्रै यही वडाकी २२ वर्षीया महिन्द्रा साँउद भण्डारी पनि करेन्ट लागेर घाइते भएकी थिएन्। डालेघाँस काट्न रुख चढेका बेला सिमलको रुखमा छोइएको विद्युतको तारको झड्का लागेर उनी जयपृथ्वी राजमार्गमा खसेकी थिएन। उनको अहिले पनि उपचार भइरहेको छ।

२०७७ साल चैत महिनामा केदारस्युँ गाउँपालिका–१, कापडी गाउँकी १३ वर्षीया कौसल्या भण्डारी पनि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। गोठालो गएकोले विद्युतको तार खुट्टाले छोइँदा उनलाई झड्का लागेको थियो। लामो समय उपचार गरेपछि उनी अहिले हिँडडुल गर्न सक्ने भएको उनको परिवारले जानकारी दिएको छ।