टीकापुर घटनाको अन्तिम सत्य पीडित परिवारलाई भन्दिन्छुः रेशम चौधरी
2023/12/18, 11:54
 
resham chaudhary

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता पीडित परिवारलाई भनिदिने बताएका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनाबारे आफूलाई त्यहाँका जनताले भनेको सत्य कुरा पीडित परिवारलाई भनिदिने बताएका हुन् ।

‘रिगलको मुद्दामा अदालतको फैसला तपाईँले पढ्नुभयो पीडितहरुको सहमति विना कसैलाई पनि आममाफी मिल्दैन ।’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘म रिगल होईन । म चाहन्छु उहाँ पीडित परिवार ले पनि न्याय पाउनुपर्छ । त्यो परिवारले पनि अन्तिम सत्य थाहा पाउनु पर्छ । म भन्दिन्छु, परिवारलाई भन्दिन्छु म । तर, सार्वजनिक मिडियामा भन्न सक्दिन । मैले नदेखेको घटना कसरी भन्न सक्छु मैले जे सुने, त्यो भन्न सक्छु ।’

पत्रकार धमलाले टीकापुर घटनाबारे आफूले सुनेको कुरा भन्नका लागि आग्रह गर्दा नेता चौधरीले सबै कुरा रंगमञ्चमा भन्न सुहाउँदा नहुने बताए । उनले टीकापुर घटना जनताले जानिसकेको बताए । जनताले टीकापुर घटनाबारे बास्तविकता बुझेरनै ८÷८ जना सुरक्षाकर्मीको हत्या अभियोग लागेको बेला आफूलाई र स्थानीय तह निर्वाचनमा र संघीय संसद् निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई जिताएको उनको दाबी छ । टीकापुर घटनामा आफ्नो र थारु समुदायहरुको कुनै सहभागिता र संलग्नता नरहेको उनको भनाइ छ ।

उक्त घटना घटेपछि छानविन गर्नका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएका घटनाको वास्तविकता बाहिर आउने उनले बताए । आफूले प्रत्येक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेपनि सरकारले सार्वजनिक गर्न नचाहेको उनको भनाइ छ । उनले आफू अदालतको आदेश मानेर साढे ८ वर्ष जेलमा बसेपनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु भन्ने सोही अदालतको आदेश राज्यले नमानेको उनको भनाइ छ । साथै, कानुन न्यायसम्मत नभएर ब्यक्तिसम्मत चलिरहेको समेत उनले बताए । टीकापुर घटनाको वास्तविक दोषी जनता र लाल आयोगलाई थाहा भएको उनले बताए । उक्त घटनाबाट आफू असाध्यै पीडित मानिस भएको उनले बताए । उक्त घटनामा आफ्नो संलग्नता नरहेपनि फूलबारी एफएम, घर जलेको, साह्रा सामान लुटपाट भएको उनले बताए ।

टीकापुर घटनामा मारिएका ८ जना सुरक्षाकर्मीका परिवारलाई भेटेर छलफल गर्ने तयारीमा रहेको उनले बताए