बैतडीमा बाख्रालाई निःशुल्क पिपिआर रोग विरुद्धको खोप लगाईदै
2024/01/25, 11:14
 
aa

 बैतडीका सबै पालिकाहरुमा बाख्रालाई निःशुल्क रुपमा पिपिआर विरुद्धको खोप लगाउने कार्य भैरहेको छ । माघ १ गतेबाट जिल्लाका १० वटै पालिकामा रहेका किसानहरुका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने कार्य भैरहेको हो ।

जिल्लामा रहेका सबै पालिकाका पशु शाखा तथा खोपकर्ताहरु परिचालन गरी खोप लगाउने कार्य गरिरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख श्याम खडकाले जानकारी दिए । उनले पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले अभियान नै सञ्चालन गरेर खोप लगाउने कार्य गरिरहेको बताए ।

बाख्राहरुलाई पिपिआर रोग बाट बचाउनका लागि निः शुल्क खोप अभियान सुरु गरिएको उनले बताए । उनका अनुसार जिल्लामा पिपिआर खोपका लागि ९० हजार डोज पुगिसकेका छन । खोपकर्तामार्फत गाउँगाउँमा गएर खोप लगाउने कार्य भैरहेको उनले बताए ।

जिल्लाभरि किसानले करिब डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेको तथ्याङक छ । बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, ¥याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् ।