खप्तड छेडेदह र बुढीगङ्गा बार्जुगाड खोलामा आठ वर्षमा दुई पिल्लर मात्रै
2024/02/06, 12:34
 
ss

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा–४ को बार्जुगाड खोलाको पुल निर्माण काममा ढिलाइ भएको छ । चार वर्षअघि निर्माण सक्ने गरेर अछामको साउद एडभेन्चर जेभीले २०७२ सालको असारमा दुई करोड रुपियाँमा ४५ मिटर लम्बाइ पुल निर्माण कामको जिम्मा लिएको हो ।

सो कम्पनीले करिब आठ वर्षसम्म पनि पुलका दुई पिल्लर मात्र खडा गरेको छ । चार वर्षसम्म पुल निर्माणको काम पूरा गर्ने गरी जिम्मा लिएको सो कम्पनीले यत्तिका वर्ष बित्दा पनि निर्माणको काम पूरा नगरेको खप्तड छेडेदह–३, टुनीसैनका स्थानीय खडक खड्काले बताए ।

उनले भने, “आठ वर्ष पूरा हुँदासम्म पुल नबनेपछि अहिले स्थानीयलाई बर्खाको समयमा बार्जुगाड खोला तर्न निकै सास्ती खेप्नु परेको छ ।” खोलामा पुल नभएकै कारण गत असार १० गते ग्वानीकी सङ्गीता साउदले अकालै ज्यान गुमाउनु परेको थियो । “कुल्देमाण्डौँ–डेल्टा सडकखण्डको बार्जुगाड खोलामा आठ वर्षदेखि पुल निर्माणको काम अलपत्र परेको छ । पुल निर्माण गर्ने म्याद सकिन्छ, ठेकेदारले फेरि म्याद थप्दै जान्छन् । हाम्रो समस्या भने जस्तो पहिला थियो, अहिले पनि उस्तै छ,” उनले भने ।

पहिला लेआउट गरेको ठाउँमा पहिरोले जमिन बगाएपछि अर्को ठाउँको ‘स्वाई टेस्ट’ गर्दा समय लागेपछि निर्माणको काम ढिलाइ भएको साउद एडभेन्चर जेभीका प्रतिनिधि रमेश साउदले बताए । उनले भने, “स्वाई टेस्टको रिपोर्ट आएपछि अर्को ठाउँमा पुल निर्माण गर्ने काम जारी छ, अहिले झन्डै ७० प्रतिशत पुल निर्माणको काम भएको छ ।”तत्कालीन जिल्ला विकास समितिको संरचना निष्क्रिय भएसँगै अहिले सो पुल निर्माणको काम पूर्वाधार विकास कार्यालय साँफेबगरले लिएको छ । असारभित्रै काम पूरा गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख रुद्रबहादुर बोगटीले बताए ।