बलात्कारको घटना तमसुक बनाएर मिलाउने वडाध्यक्ष सहित तीन जना पक्राउ
2024/03/26, 3:20
 
ss

बैतडीको सिगास गाउँपालिकामा– ४ वर्ष पहिले बलात्कार मुद्दा मिलोमतोमा मुछिएका तीनजना सोमबार पक्राउ परेका छन् । सिगास गाउँपालिका –३ वडा अध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामी पक्राउ परेका हुन् ।

२०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । त्यसपछि स्थानीयहरूले थाहा पाएपछि हालका वडा अध्यक्ष अमर सिंह धामी, शिक्षक मनोज सिंह धामी, कर्मचारी राजेन्द्र सिंह धामीलगायतका स्थानीयले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए । मिलोमतोमा संलग्न अर्का गोपाल सिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन् । 

आरोपित दिपकले बलात्कृत भएकी किशोरीलाई सुन दिने सहमति सहितको तमसुक बनाएका थिए । सोही तमसुकको फट्के किनाराका साँची बसेका तीनजना सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

सोमबार पक्राउ परेका तीनै जनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको हो । त्यसमध्ये वडा अध्यक्ष अमर र शिक्षक मनोजले २७ दिन अनुसन्धानका क्रममा नै कारागार बसेका थिए । उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ । यसैगरी यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नु पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेम बिक्रम केसीले जानकारी दिए । तीनैजनाले १० हजार जरिवाना पनि तिर्नुपर्नेछ । 

तर, बलात्कारमा संलग्न दिपक सिंह धामी भने अझै फरार छन् । स्थानीयका अनुसार तमसुक बनाएदेखि नै उनी फरार छन् । प्रहरीले  मुख्य अरोपित दिपकलाई पक्राउ गर्न सकेको छैन ।