नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल गर्ने माओवादी संसदीय दलको निर्णय
2024/03/31, 1:33
 
ss

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा निर्णय गरेको छ । आज संसदीय दलको कार्यालयमा बसेको बैठकमा  केन्द्रमा तयार भएको एमाले माओवादीसहितको गठबन्धनको सरकार सुदूरपश्चिममा पनि बनाउने गरि कसरत गर्ने निर्णय गरेको हो ।

माओवादी उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरी उत्सव सहितका माओवादी संसदीय दलको बैठकले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने निर्णय गरेको हो । खगराज भट्ट बाहेकका सुदूरपश्चिम प्रदेशका सबै प्रदेश सभा सदस्यहरू आजको बैठकका उपस्थित थिए । माओवादी नयाँ सत्ता गठबन्धनको पहिलो ठूलो दल हो । 

यहाँ माओवादीका ११ सांसद छन् । ‘हामी गठबन्धनको सबै भन्दा ठूलो दल हौँ हामीले मुख्यमन्त्री नलिएर भएपनि सरकार बनाउने विषयमा निर्णय गरेका छौँ’ बैठकमा सहभागी एक सांसदले भने ‘केही बेरमा विज्ञप्ति जारी गरेर नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा आह्वान गर्छौ । ’

माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अहिले कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । यहाँ कांग्रेसका १८ र नाउपाका ७ सांसदका छन् । २२ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । तर, नाउपा भित्रै विवाद हुँदा मुख्यमन्त्री शाह ढुक्क देखिन्नन् । यस्तो बेला माओवादीले सरकार बनाउन पहल गर्न निर्णय गरेको हो।