धनगढीका सडक किनारामा गाडिएका पोलका तारहरू व्यवस्थित गरिँदै
2024/04/02, 1:58
 
ss

धनगढी उपमहानगरपालिकाका सडक किनारामा गाडिएका पोलका तारहरू व्यवस्थित गरिन थालिएको छ । धनगढीका सडकहरूका किनारामा गाडिएका पोल ९खम्बा० मा जथाभावी रुपमा तानिएका तारहरू व्यवस्थित गर्ने काम सुरु भएको हो।

धनगढी उपमहानगरपालिकाको पहलमा जथाभावी रूपमा तानिएका तारहरू व्यवस्थित गर्न थालिएको हो । उपमहानगरका मुख्य बजार क्षेत्र र अन्य स्थानका सडकका किनारामा गाडिएका बिजुली तथा टेलिफोनका पोलहरूमा इन्टरनेट, केवुल टिभी तथा टेलिफोनका तारहरू जथाभावी रुपमा तानिएका कारण शहर कुरुप बन्नुका साथै दुर्घटनाको पनि कारण बन्ने गरेको छ ।

धनगढी उपमहानगरपालिकाको पहलमा नगर क्षेत्रभित्रका पोलहरूमा रहेका अनावश्यक तारहरू हटाउने कार्य अघि बढाइएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार शनिबारदेखि ६ लेन सडकको दुवै तर्फबाट तारहरूको व्यवस्थापन गर्ने कामको शुरूवात गरिएको छ । त्यो क्रम अब नगरका सबै क्षेत्रमा शुरु गरिने छ ।

उपमहानगरपालिका क्षेत्रमा इन्टरनेट तथा केबुल टिभी सेवा प्रदायकहरूसँग गत चैत ४ गते भएको छलफलमा “आगलागी एवं विपद् जोखिमबाट बच्न र सहरको सौन्दर्यीकरण राख्न जथाभावी र अनावश्यक रूपमा तानिएका तारहरू हटाउने” निर्णय भएको थियो । धनगढी उपमहानगरपालिकाले धनगढीलाई स्वच्छ र सफासुन्दर बनाउन चरणवद्ध रुपमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले प्लास्टिकजन्य वस्तुको खरिदबिक्री तथा उत्पादनमा प्रतिबन्ध लगाइसकेको छ भने घरेलु र बाह्य फोहोरमैला व्यवस्थापन कार्य पनि जारी छ ।