नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित
2024/04/02, 2:09
 
dd

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् ।

यही विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।त्यसलगत्तै रन्जिताले दुई अध्यक्षलाई कारबाही गरिन् ।