सुदूरपश्चिममा मुख्यमन्त्री विवाद मिलाउन गठबन्धनमा उल्झन
2024/04/03, 1:47
 
ss

सत्ता गठबन्धनमा कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री चयन पेचिलो बनेको छ । कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गठबन्धनमा भए पनि माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा आफूले नै निरन्तरता पाउनुपर्ने अडानमा छन । 

सुदूरपश्चिममा भने निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीको विवादले सरकार परिवर्तनका लागि बहुमत पु¥याउन जटिल देखिएको छ । कर्णालीमा मुख्यमन्त्रीका लागि एमाले उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार निर्देशन नै दिएका थिए । तर, माओवादीको आन्तरिक विवादका कारण केन्द्रमा भएको सहमति कार्यान्वयन भएको छैन ।

मुख्यमन्त्री शर्माले निरन्तरता पाउनुपर्ने अडान लिएपछि प्रदेशसभाबाट मंगलबार विश्वासको मत लिने कार्यतालिका स्थगित भएको छ । सहमति खोज्न एमाले र माओवादीका नेता सक्रिय भए पनि टुंगोमा पुग्न सकेनन् ।माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै निरन्तरता हुनुपर्ने अडान लिएकाले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका छन् । यहाँ एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । उनले केन्द्रको गठबन्धनको सहमतिअनुसार सरकार अघि बढ्ने विश्वास गरे ।

‘गठबन्धनको सहमतिअनुसार नै कर्णाली सरकारबारे निर्णय हुने विश्वास छ’ उनले भने । कर्णाली प्रदेशसभामा ४० सांसद छन् । सरकार गठन गर्न गठबन्धनमा रहेका माओवादीका १३, एमालेका १० सांसद भए बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्र १ सांसद छन् । गठबन्धन दलबीच कोशीमा एमाले, मधेशमा जनता समाजवादी, वाग्मतीमा माओवादी, गण्डकीमा एमाले, लुम्बिनीमा माओवादी, कर्णालीमा एमाले र सुदूरपश्चिममा एकीकृत समाजवादीरनागरिक उन्मुक्तिले पहिलो चरणमा मुख्यमन्त्री लिने सहमति भइसकेको छ ।

‘केन्द्रमा भएको सहमति प्रदेशमा कार्यान्वयन गर्ने गृहकार्य भइरहेको छ’ माओवादीका एक पदाधिकारीले भने, ‘यसको कार्यान्वयन वाग्मती प्रदेशबाट सुरु भएको छ ।’ वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् ।नागरिक उन्मुक्तिको विवाद चर्किएपछि सोमबार सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र वाग्मतीको नेतृत्व दिने सहमति भएको उक्त पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘सुदूरपश्चिम सुरुमै र वाग्मतीमा दोस्रो चरणमा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ,’ उनले भने ।

सुदूरपश्चिमको ५२ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका र स्वतन्त्र १–१ सांसद छन् । बझाङ–१ ९१० मा कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको निधन भएकाले हाल कांग्रेसका १७ सांसद छन् । गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पु¥याउने कसरत छ । हाल कांग्रेसका कमलबहादुर शाह प्रदेशका मुख्यमन्त्री छन् । उनले सरकार जोगाउन उन्मुक्तिका ७ मध्ये ५ जनालाई मन्त्री नियुक्त गरिसकेका छन् ।

सुदूर प्रदेश सरकारबारे छलफल गर्न बसेको उन्मुक्तिको बैठकमा सोमबार चर्को विवाद भएको थियो । संरक्षक रेशमले सत्ता गठबन्धनले पार्टीमा भाँजो हालेको आरोप लगाएका छन् भने अध्यक्ष रञ्जिताले पार्टी निर्णयलाई मान्नुपर्ने अडान लिएकी छन् । चैत १६ मा उन्मुक्ति अध्यक्ष रञ्जिताले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर उन्मुक्तिले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएको छैन । कान्तीपुर