बझाङ उपनिर्वाचनः सत्ता गठबन्धनकै छुट्टाछुट्टै उम्मेदवार, कांग्रेसको छनोट गर्न ढिलाइ
2024/04/03, 1:50
 
dd

बझाङ उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावको तयारीमा जुटेका छन्। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नं १ बाट राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिरहँदा भने नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएर नयाँ गठबन्धन बनेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उपचुनावमा तालमेल गर्ने वा नगर्ने विषयमा अझै निष्कर्षमा पुगेका छैनन्। कांग्रेस प्रतिपक्षी कित्तामा पुगेको छ। जसकारण चुनावको तयारीका लागी राजनीतिक दलहरुले एक्ला एक्लै उम्मेदवार छनोट गरिरहेका छन् । यसका साथै दलहरू चुनाव आफ्नो पक्षमा पार्न आन्तरिक छलफलमा व्यस्त छन्।

तर बझाङ १९१० का लागि नेकपा एमालेले बझाङमा दमन भण्डारीलाई मैदानमा उतारेको छ। उनी एमाले बझाङका अध्यक्ष समेत हुन्। नेकपा माओवादी केन्द्रले जनक बुढाको एकल नाम सिफारिस गरेको छ। सिफारिसका आधारमा टिकट पाए माओवादीबाट बुढा उम्मेदवार हुने निश्चित छ। बुढा संविधानसभा सदस्य समेत हुन्। माओवादी बझाङका अध्यक्ष टोपबहादुर खड्कालेअहिलेसम्म गठबन्धनको केही कुरा नआएको एक्ला एक्लै चुनाव लड्ने बताए। त्यसैले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेर केन्द्रमा नाम पठाएका बताए ।

नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई चुनावी मैदानमा उतारेको छ। सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष हुन्। तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष रहेका सिंह अहिले उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज रहेका छन्। नेकपा एमालेलगायत तीन दलले उम्मेदवार टुंगो लगाउँदा नेपाली कांग्रेसले भने अझै उम्मेदवार टुंग्याएको सकेको छैन। नेपाली कांग्रेसबाट बझाङ उपचुनावमा लड्ने आकांक्षीको संख्या बढी छ।

उपचुनावको टिकटका लागि कांग्रेसले तीन जनाको नाम सिफारिस गर्न भनेकोमा जिल्ला कार्यसमितिले १० जनाको नाम सिफारिस गरेर पठाएको छ । टिकट हत्याउन कांग्रेस नेताहरू शक्ति केन्द्र धाइरहेका छन्। कांग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी र अभिषेकबहादुर सिंह प्रमुख दाबेदार हुन्। अभिषेक सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्। गत असारमा मन्त्री सिंह, उनकी पत्नी र भाउजुको बझाङको केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो।

सिंहको निधनपछि रिक्त बझाङ १९१० मा कांग्रेसबाट उनका छोरा अभिषेक चुनाव लड्न चाहन्छन्। उनी राजनीतिमा पनि सक्रिय छन्। यसपटकको स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए। बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढेका छन्। एक नेताका अनुसार आकांक्षीमध्ये ४ जना अहिले टिकटका लागि लागिरहेका छन् । अभिषेक र सत्यराजजीमध्ये एक जनाले टिकट पाउने सम्भावना देखीएकाले भोलिसम्म उम्मेदवार टुंगो लाग्न सक्ने उनको भनाई छ ।

जगतप्रसाद जोशी र लोकेन्द्र बहादुर रोकाया पनि टिकटका लागि शक्ति केन्द्रसँग जोडबल गरिरहेका छन्। यसका साथै टिकटका लागि कांग्रेसबाट सिफारिसमा पर्नेमा शान्ति बोहरा ९पुजारा०, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, नारायण हमाल र अर्जुन स्याडा पनि छन्। निर्वाचन कार्यतालिका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ। २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ। यस्तै, २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको छ। १५ वैशाखमा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

बझाङ १९१० बाट निर्वाचित नेपाली कांग्रेसका सांसद स्व पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको त्यहाँ उपचुनाव भइरहेको छ। तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसँग हारेको एमाले अहिले त्यो हारको बदलामा जित निकाल्दै सुदूरपश्चिम प्रदेश सभामा आफ्ना एक सांसद थप्ने दाउमा रहेको छ। २०७४ सालको चुनावमा पनि बझाङ १९१० मा एमालेले जितेको थियो। नेपाली कांग्रेसलाई २०७९ को जित जोगाउने चुनौती छ। माओवादीको साथमा जित हात पारेको कांग्रेसको कित्तामा अहिले माओवादी छैन। कांग्रेस एक्लै चुनावमा होमिएर जितमा निरन्तरता दिन चाहन्छ। नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा पनि जित निकाल्ने दाउका साथ चुनावी मैदानमा उत्रिएका छन्।