राजीनामा दिन्न,विश्वासको मत पाउँछुः मुख्यमन्त्री शाह
2024/04/03, 5:43
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि ९चैत २२ गते० आफूले विश्वासको मत पाउने बताएका छन् । मुख्यमन्त्री शाहले आफूले विश्वासको मत पाउनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् ।

बाहिरीरुपमा राजीनामा दिने हल्ला विपक्षीले चलाए पनि आफूले भने संसदबाट विश्वासको मत पाउने दावी गरेका छन्। उनले भोलि संसदमा विश्वासको मत लिन आफूले सभामुखलाई पत्राचार गरिसकेको बताए । अहिले रहेकै गठबन्धनबाट आफूले नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलका प्रदेश सभा सदस्यबाट विश्वासको मत पाउने मुख्यमन्त्री शाहले बताएका छन् ।

विश्वासको मत लिने कुरामा शंका उपशंका हुनु स्वभाविक रहे पनि आफूले यही गठबन्धनबाट विश्वासको मत लिने कुरामा कुनै शंका नरहेको उनले दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउन ५३ जना प्रदेश सभा सदस्य मध्ये २७ जना संसदको मत आवश्यक पर्छ ।

अहिले मुख्यमन्त्री शाहसँग १८ जना नेपाली कांग्रेस, ७ जना नागरिक उन्मुक्ति पार्टी र एक जना स्वतन्त्र सांसदको समर्थन कायमै छ भने राप्रपाको एक जना प्रदेश सभा सांसदले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सुनिश्चित भए आफू बाधक नहुने र मत दिने यसअघि नै बताइसकेका छन् । अब मुख्यमन्त्री शाहलाई बहुमत प्रदेश सभा संसदको मत पाउन १ जना आवश्यक छ ।

तर, नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउनेमा भने शंका कायमै छ । स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र भित्र पनि आन्तरिक किचलो कायमै छ । यसअघि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट हटाइएका नेकपा माओवादी केन्द्रका खगराज भट्ट प्रदेश संसदीय दल प्रति रुष्ट छन् । उनी सम्भवतः नयाँ बनेको गठबन्धनलाई भन्दा पनि शाहलाई विश्वासको मत दिने पक्षमा रहेको बुझिएको छ ।