नेपाल–भारत सीमा सुरक्षा अधिकारीबिच छलफल, लागूऔषध कारोबार नियन्त्रण गर्न सहमत
2024/04/07, 1:23
 
ss

नेपाल–भारत सीमा जिल्लाका सुरक्षा अधिकारीबिच छलफल भएको छ। शनिबार सम्पन्न समन्वय बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचनमा सुरक्षा सवाल, लागूऔषध नियन्त्रण, सीमा क्षेत्रका सुरक्षाकर्मीले गर्ने व्यवहार लगायतका सवालमा नेपाल –भारतका सीमा जिल्लाका सुरक्षा अधिकारी बिच छलफल भएको हो ।

भारतमा १३ मे मा हुन लागेको लोकसभा निर्वाचनका क्रममा सीमा सुरक्षा प्रबन्धका सवालमा प्रमुख चासोका साथ छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ७२ घण्टा अगाडिदेखि सीमामा आवतजावत बन्द गर्ने तर अत्यावश्यकीय मानवीय सेवाका साधन तथा वस्तुहरु भने निगरानीमा संचालन गर्ने कुरा भएको उनले बताए ।

प्रजिअ मिश्रले आफ्नो पक्षले लागूऔषधको कारोबार तथा प्रयोगको नियन्त्रणलाई पनि प्रमुख चासोका साथ उठाएको र भारतीय सुरक्षा अधिकारीहरु त्यसमा सहमत भएको बताए । ’त्यसका लागि दुवै पक्षले सर्च अपरेशनलाई थप प्रभावकारी बनाउने समझदारी भएको छ,’ प्रजिअ मिश्रले भने, ’दुबै पक्षले कारोबारीहरुको सूची तयार गरेर कारबाही सशक्त बनाउँछौं ।’ साथै, दुवै देशका सीमा क्षेत्रका सुरक्षा अधिकारीको बैठकमा सीमा नाकामा सुरक्षाकर्मीहरुले गर्ने व्यवहारबारे पनि गम्भीर समीक्षा भएको प्रजिअ मिश्रले बताए ।

’भारतबाट फर्किने क्रममा वा जाने क्रममा सीमा नाकामा भारतीय सुरक्षाकर्मीहरुले गर्ने दुर्व्यवहारका सवालमा पनि गम्भीरतापूर्वक कुरा उठायौं,’ प्रजिअ मिश्रले भने, ’सीमामा दुवै देशका नागिरकमाथि मानवीय व्यवहारबारे संवेदनशील हुनु पर्ने आवश्यकता छ । खासगरी भारतीय पक्षका सुरक्षाकर्मीबाट दुर्व्यवहार खेप्नु परेका गुनासाहरुप्रति हाम्रो मुख्य चासो हो ।’बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु सहभागी थिए ।

कैलालीका प्रजिअ मिश्रका अनुसार पहिलो पटक दुवै जिल्लाका वन अधिकृतहरु, आन्तरिक राजस्व कार्यालय प्रमुखहरु र भन्सार प्रमुखहरुलाई पनि सहभागी गराइएको थियो । सीमा क्षेत्रमा वनजन्य वस्तु र वन्यजन्तुको चोरी तस्करी नियन्त्रण, भन्सार तथा राजस्व छली एवं ओसारपसारका सन्दर्भहरुमा पनि दुवै पक्षका सम्बन्धित निकायका अधिकारीहरुबीच छलफल गरी आवश्यक समन्वयको समझदारी भएको प्रजिअ मिश्रले बताए । यस सुरक्षा समन्वय बैठकको आयोजना भारतीय पक्षका सुरक्षा निकायले गरेका हुन् । बैठकमा भारतीय पक्षको नेतृत्व पलिया क्षेत्रका डीएम महेन्द्रबहादुर सिंहले गरेका थिए ।