अन्ततः नाउपाले सुदूरपश्चिमको मुख्य मन्त्री पाउँदै
2024/04/11, 5:20
 
ss

नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।

सुदूरपश्चिममा हाल नाउपाका छ सांसद रहेका छन् । यसअघि ७ सांसद रहेकोमा अध्यक्ष रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन् र प्रदेश सभाले उनी पदमुक्त भएको सूचनासमेत सार्वजनिक गरिसकेको छ । छ सांसदमध्ये अध्यक्षको पक्षमा दुई सांसदमात्र रहेका छन् । केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्रीबाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ । अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारवाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । यो विषय पनि विवादमा रहेको छ । ५३ सदस्यीय सुदूर पश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् । बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।