बैतडीमा ४ बर्षसम्म अलपत्र पुल निर्माण हुदैँ
2024/04/12, 2:42
 
aa

बैतडीको पुर्चौडी नगरपालिका वडा नं १ खडिखेत स्थित जमाडी नदिमा मोटर पुल ४ बर्ष अघि पिल्लर ठड्याएर अलपत्र अवस्थामा अलपत्र रहेको पुल अहिले निर्माण हुन लागेको छ ।

सतबाँज, श्रीभावर, हाट, गोकुलेश्वर, गन्ना, दार्चुला सडक जोड्ने उदेश्यले निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अगाडि बढ्दा स्थानियबासी हर्षित भएका छन् । यो पुल बनेपछी सडक सुचारु हुने भएकाले लामोबाटो यात्रा गर्ने बाध्यता हट्ने स्थानिय हरि साउदले बताए । “पुलको वारी र पारीको सडक निर्माण भैसकेको छ । गोकुलेश्वर पुग्नका लागि बिचमा करिव २किलोमिकर मात्रै सडक निर्माण गर्नुपर्नेछ, यसबर्ष नगरपालिकाले उक्त सडकमा बजेट पनि छुट्याएको छ, यत्ति भएमा यात्रा निकै सहज हुनेछ” उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय बैतडीको ४ करोड ७० लाख रकमको लागतमा जगदम्बा बिल्डर्स प्रालि बुद्धनगर काठमाण्डौले उक्त पुुल निर्माण गरिरहेको हो । आगामी बैशाख मसान्तसम्म उक्त पुल निर्माण कार्य सम्पन्न गरि सवारी साधन आवत जावत गर्ने गरि निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको निर्माण व्यवसायी गणेश बहादुर बिष्टले बताए । लामो समय निर्माण कार्य अलपत्र परेको बिषयमा पुलमा जडान गरिने फलामका सामानहरु भारतमा निर्माण गर्न ढिलाई भएको निर्माण व्यवसायीको भनाई छ ।

पुल निर्माण गरिरहेका बिरेन्द्र धानुकले भने,“ यो पुल पहिलानै निर्माण सम्पन्न भैसक्नु पर्ने हो तर बिचमा कोरोनाको कहरका कारणले काम ठप्प भएको हो, अहिले धमाधम काम गरिरहेका छौँ, सामानहरु आइसकेको छ, प्राविधिक, कामदार सबैजना तयारी अवस्थामा छन्, बैशाखमा फलामको काम सकेर जेठमा ढलान गर्ने र निर्माण सम्पन्न गरेपछि सम्वन्धीत निकायलाई बुझाउने तयारीमा छौँ ।” उक्त पुल आर्थिक बर्ष २०७६–०७७मा निर्माण सुरु भएको थियो ।

ग्वाल्लेक निर्माण सेवाका अनुसार डेढ करोडको काम सम्पन्न गरि भुक्तानीका लागि बिल पेश गरेकोमा १० लाख रकममात्रै प्राप्त भएको छ । समयमा भुक्तानी नहुँदा निर्माण कम्पनीका कर्मचारीलाई तलव दिन र निर्माण सामग्री खरिद गर्न समस्या भैरहेको व्यवसायीको गुनासो छ । सुदूरपश्चिम प्रदेश सरकारबाट नै रकम निकै कम आउने गरेकाले काम सम्पन्न भएका आयोजनाहरुको भुक्तानी गर्न समस्या भैरहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । काम अनुसारको रकम भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीहरुलाई कामका लागि ताकेता गर्न  समेत समस्या भैरहेको कार्यालयले जनाएको छ ।