शुक्लाफाँटामा बाह्रसिङ्गेको गणना सकियो
2024/04/14, 6:38
 
ss

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गेको गणना गरिएको छ। बाह्रसिङ्गेको गणना सकिएको र प्राविधिक विश्लेषण गरेपछि अन्तिम परिणाम आउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए। “दुई साताजतिमा अन्तिम परिणाम आउनेछ,” भट्टराईले भने। दुई वर्षअघि भएको गणनामा फुक्लाफाँटामा दुई हजार ३१३ बाह्रसिङ्गे भेटिएका थिए।

नेपाल प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी लन्डनको नेपाल स्थित कार्यालयको सहयोगमा बाह्रसिङ्गे गणना गरिएको भट्टराईले बताए। बाह्रसिंङ्गेको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएको निकुञ्ज शुक्लाफाँटामा ठूलो बथान बाह्रसिङ्गे हेर्न सकिन्छ।

शुक्लाफाँटाको पहिचान बनेको बाह्रसिङ्गे हेर्न स्वदेशी तथा विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेका छन्। भालेको सिंगमा बाह्र वटा हाँगा हुने भएकाले बाह्रसिङ्गे भनिने यो प्राणी ठूलो वर्गको जरायो हो। बाह्रसिङ्गे हाल नेपाल र भारतमा मात्र पाइन्छ। नेपालमा यो बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइन्छ।

दलदलयुक्त क्षेत्र र घाँसे मैदानमा बस्ने बाह्रसिङ्गेको बासस्थान समुन्द्री सतहबाट १०० मिटरदेखि ३०० मिटरसम्म हो। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पाँच किलोमिटर दक्षिण–पश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भएको थियो। अहिले यसलाई निकुञ्ज बनाइएको छ।