मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाका लक्ष्मणकिशोरले मागे प्रदेश प्रमुखसँग कागज पत्र
2024/04/16, 5:46
 
ss

 सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखलाई भेटेका छन् । कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले एकीकृत समाजवादीले समर्थन नरहेको पत्र बुझाएपछि प्रदेश प्रमुख नजिर मियाँलाई निवासमै पुगेर भेटेका हुन् ।

चौधरीले प्रदेश प्रमुखलाई भेटेर आफूले दाबी पेश गर्दा बुझाएको कागज पत्रको प्रतिलिपि माग गरेको बताए । ‘उहाँ ले समय बढाउने भएपछि मैले मुख्यमन्त्रीमा दाबी गर्दा पेश गरेका कागज पत्रको प्रतिलिपि मागेको छु,’ चौधरीले भने, ‘प्रदेशलाई जबरजस्ती संविधानमा भएको व्यवस्था विपरीत लैजाने काम भएको छ । कानुनी उपचार खोजिन्छ ।’

चौधरीले प्रदेश प्रमुखको कदमअनुसार आवश्यक निर्णय लिइने बताएका छन् । २ वैशाखमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नाउपाकै कैलाश चौधरीले पनि एमाले–माओवादीको समर्थनमा दाबी पेश गरेका थिए । सोही कारण प्रदेश प्रमुखले कुनै निर्णय लिएका छैनन् ।

केन्द्रमा नेताहरूबीच एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएपछि संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै लक्ष्मणकिशोरलाई समर्थन नरहेको बताएका थिए । प्रदेश प्रमुखले दुवैको दाबी नपुगेको भन्दै सरकार गठनका लागि पुनः आह्वान गर्ने तयारी गरेका छन् ।