सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमतिमा एमाले मौन, मुख्यमन्त्रीमा दाबी प्रस्तुत हुन सकेन
2024/04/17, 6:23
 
ss

सुदूरपश्चिम सङ्घीय समीकरणमा रहेका दल मिलेर सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा ९एमाले० ले कुनै निर्णय नगर्दा बुधबार साँझसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेन । प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गर्नु भएको थियो ।

सोही आह्वान अनुसार बुधबार बिहान ८ बजे नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको बैठक बसेर दिउँसो दावेदारी प्रस्तुत गर्ने बताइएको थियो । तर एमाले अनिर्णीत बन्दा दावेदारी प्रस्तुत हुन सकेन । एमालेको केन्द्रीय नेतृत्वले एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीका पक्षमा सहमति दिनु भन्ने निर्देशन नदिएको कारण एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल अलमलिएको बताइन्छ । नेकपा ९एमाले० का प्रदेश सभा सदस्य धर्मराज पाठकले बिहीबारसम्म मुख्यमन्त्रीको दाबीका विषयमा टुङ्गो लाग्ने बताए ।

नेकपा माओवादी केन्द्र का उपनेता अक्कलबहादुर रावलले आफूहरू दिनभर पर्खेर बसे पनि एमालेका नेताहरू नआएपछि मुख्यमन्त्रीको दाबी हुन नसकेको बताए। एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभाको दलको बैठकले दलका नेता सोडारीलाई मङ्गलबार नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले पनि सोडारीलाई नै अघि सार्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्तिकै दुईवटा दाबीले मुख्यमन्त्री नियुक्तिमा निष्कर्षमा पुग्न नसकेको बताउँदै मङ्गलबार दोस्रो पटक मुख्यमन्त्रीको दाबीका लागि आह्वान गर्नुभएको थियो। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि चैत २३ गते प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न १० दिनको समयसीमा दिएका थिए । प्रदेश प्रमुख नजिर मियाले पुनस् २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्। मुख्यमन्त्रीमा भोली बैशाख ६ गते बेलुका ५ बजेभित्र दावी पेश गर्न भनिएको छ। गोरखापत्रबाट