अप्ठ्यारोमा एकीकृत समाजवादीः दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद ?
2024/04/18, 1:20
 
ss

 सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको दोस्रो समयावधि बिहीबार बेलुका ५ बजे सकिँदैछ। दोस्रो समयावधि एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्ने अवसर प्रदान गर्नका लागि थप गरिएको थियो। तर सो पार्टीबाट मुख्यमन्त्रीका रुपमा अघि सारिएको दीर्घ सोडारीको नामप्रति एमालेको असहमति छ।

बिहीबार बिहानसम्म एमालेले सोडारीको नाममा समर्थन गरेको छैन। नगर्ने अडान पनि राखिरहेको छ। यद्यपि, आफूहरू केन्द्रको निर्देशन कुरिरहेको सुदूरपश्चिम प्रदेशका एक एमाले सांसद बताउँछन्। 'सोडारीको नामका विषयमा सुरुमा केन्द्रबाटै असहमति राखिएको हो', उनले भने, 'त्यसैले अहिले हामीहरू केन्द्रकै निर्देशन कुरिरहेका छौँ।'

एकीकृत समाजवादीले पनि सोडारीका नामप्रति एमालेको असहमति रहेको स्वीकार गरेको छ। तर मुख्यमन्त्री आफ्नो पार्टीले पाउने भएपछि आफ्नो पार्टीको तर्फबाट को मुख्यमन्त्री बनाउने भन्ने अधिकार पनि आफूहरूकै भएको सुदूरपश्चिम प्रदेशका सो पार्टीका एक सांसदले बताए। 'हाम्रो पार्टीबाट फलानोलाई मुख्यमन्त्री नबनाऊ, फलानोभन्दा फलानो राम्रो भन्ने कुरा स्वीकार हुँदैन', उनले भने, 'अर्को पार्टीभित्र खेल्ने काम राजनीतिक होइन। कि, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिँदैनौँ भनेर खुलेर भन्नुपर्‍यो।'

गत आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले नाउपालाई मुख्यमन्त्री दिने निर्णय लिएको थियो। त्यस निर्णयप्रति एकीकृत समाजवादीले असन्तुष्टि राखेको थियो। तर त्यसअघि नै एकीकृत समाजवादीलाई सोडारीको विकल्प खोज्न भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्देश दिएको र त्यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दोहोर्‍याएको नेताहरूको भनाइ छ।

एकीकृत समाजवादीले सोडारीको विकल्प खोज्न नमान्दा नै गठबन्धनको बैठकले नाउपाको नाममा निर्णय गरेको थियो। तर गठबन्धनको निर्णय अनुसार परिस्थिति अगाडि बढेन। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफू निकटका नेता कैलाश चौधरीलाई एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न पठाउनुअघि नै धनगढीमा फरक समीकरण निर्माण भएको थियो। त्यहाँ नाउपाका संरक्षक रेशम चौधरी पक्षले कांग्रेस र एकीकृत समाजवादीसँग समीकरण बनाइ लक्ष्मणकिशोर चौधरीलाई दाबी पेस गर्न पठाएका थिए। त्यसपछि मात्रै कैलाशको दाबी पेस भयो।

गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीको असन्तुष्टि रहेको भए पनि कांग्रेससँग मिलेर समीकरण बनाउने कुराले एमाले र माओवादी केन्द्रलाई चिढ्यायो। ओलीले त सार्वजनिक रुपमै एकीकृत समाजवादीले सुदूरपश्चिममा अराजनीतिक निर्णय लिएको भन्दै कटाक्ष गरे। सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डले भने खुलेर प्रतिक्रिया दिएका छैनन्। उनले आफ्नो सत्तामा आउन सक्ने संकट आकलन गर्दै मौन बसे। साथै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिलाउने वातावरण बनाउँदै लगे। सोही अनुसार मंगलबार नाउपाका दुवै दाबी अस्वीकार भयो। र नयाँ मिति राखेर आह्वान भयो।

दीर्घ सोडारी पहिल्यैदेखि विवादित व्यक्ति भएकाले उनको नामप्रति एमालेको असन्तुष्टि थियो नै। गत आइतबार कांग्रेससँग समीकरण बनाउन अगुवाइ गरेपछि एमाले झनै चिढिएको छ। सोडारीले पनि एमाले र अध्यक्ष ओलीलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहेका छन्। त्यसले पनि दुरी बढाउन भूमिका खेलेको छ।

'उहाँहरूको छनौटको विषय हो- दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद', एमालेका ती सांसद भन्छन्, 'अहिलेको परिस्थिति त्यही हो। पार्टी केन्द्रले आफ्नो मान्यतामा पुनर्विचार गर्‍यो भने त्यही अनुसारको परिस्थिति बन्ला।'