कैलालीको धनगढीमा ग्रामीण सडकहरु धमाधम ग्राभेल हुँदै
2024/04/23, 2:04
 
ss

कैलालीको धनगढीमा ग्रामीण सडकमा धमाधम ग्राभेल गर्ने काम भइरहेको छ।

धनगढी उपमहानगरपालिकाले ग्रामीण सडकलाइ प्राथमिकतामा राखेर ग्राभेल गर्न थालेको हो। उपमहानगरले वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै सडक ग्राभेल गर्दै आएको छ। पहिचान भएका सडकमा ग्राभेल गर्ने काम नियमित रुपमा भइरहेको उपमहानगरपालिकाले जनाएको छ। एक पटक पनि ग्राभेल नभएका सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको हो।

धनगढीमा एक पटक पनि ग्राभेल नभएका सडकको संख्या धेरै देखिएपछि सोहि अनुसार काम भइरहेको उपमहानगरपालिकाले बताएको छ। साथै स्थानीयको मागको आधारमा सडक ग्राभेल गर्ने काम जारी छ। धेरै सडकहरुको ग्राभेल गर्ने काम भइसकेको छ। यस्तो कार्य नियमित रुपमा जारी रहने उपमहानगरको भनाइ छ। उपमहानगरले आफ्नै स्रोत र साधनको प्रयोग गरेर  ग्रामीण एवं सहरी सडक ग्राभेल गर्ने काम गर्दै आएको छ।

पहिले ग्राभेल गरेर त्यसपछि कालोपत्र गर्ने योजना उपमहानगरको छ। स्थानीयको आवश्यकतालाइ पहिचान गरेर सोहिअनुसार सडक ग्राभेल र कालोपत्र गर्ने काम भइरहेको हो। उपमहानगरले धनगढीभित्र रहेका पक्की, कञ्ची र एक पटक पनि ग्राभेल नभएका सडकको विवरण नै संकलन गरेर सोहिअनुसार काम भइरहेको बताइएको छ।