संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका व्यक्त गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका हुन् ।
नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा दुईपटक आउनेसमेत प्रतिबद्वता जनाए ।
‘महिनामा दुईपटक विमानस्थलकै लागि भैरहवा आउनेछु,’ उनले भने, ुसंस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ । मेची महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’
मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको संज्ञा दिए । उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालय स्थापनाका लागि साउनमै निर्णय भएको बताए ।