कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको ‘शनिवारे महिला उद्यम मेला’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की र्मिला सिंहले सेलरोटीको स्टल राखेकी थिइन् । घरमै समय बिताउने निर्मला ‘शनिवारे महिला उद्यम मेला’ का कारण आफ्नो आम्दानीको बाटो खुलेकोमा उत्साहित थिइन् ।
त्यस्तै, मोहनपुरकी उमा तामाङले शनिवारे मेलामा अचारको स्टल राखेकी थिइन् । अघिल्लो शनिवार स्टल बुकिङ भएका कारण अचारको स्टल राख्न नपाएको बताउने तामाङले यो पटक चार किसिमको अचार बिक्रीको लागि राखेकी छन् । मेलाका कारण अचार बनाउने उत्साह बढेको र आफूजस्तै सिप भएका महिलाले आम्दानी गर्न सहज भएकाने तामाङको भनाई छ ।
‘मेला एकदम राम्रो छ । मंसिर १ गते शनिवार स्टल बुकिङ भइसकेकाले पाएन । यो पटक चार किसिमको अचार राखेकी छु,’ तामाङले भनिन्, ‘मेला लाग्दा घरमै बस्नुपर्ने र बनाएको अचार बिक्री गर्न समस्या थियो । ‘शनिवारे महिला उद्यम मेला’ सञ्चालन भएपछि सहज हुने भएको छ ।’
मंसिर ८ गतेको शनिवारे मेलामा धनगढीका महिला उद्यमीले ६० वटा स्टलमा आफूले बनाएका बस्तु र खाना तथा खाजाको परिकार राखेका थिए । मेलामा रानाथारु, चौधरी तथा पहाडी खानाका परिकारहरू राखिएका थिए । मेला लगाउन सुरू भएकाले घर बसेका बेरोजगार महिलालाई आम्दानीको अवसर जुटेको धनगढी वडा नम्बर ८ की रन्जिता रानाले बताइन् । उनले उपमहानगरले मेला लगाउन थालेकाले महिलाका लागि आम्दानी गर्ने बाटो खुलेको बताइन् ।
मंसिर महिनाको पहिलो शनिवारबाट धनगढीको पार्कमोडमा घरमै बसेका महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘शनिवारे महिला उद्यम मेला’ को आयोजना गरेको हो ।
‘शनिवारे महिला उद्यम मेला’ हरेक शनिवार दिउसो २ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुन्छ । मेलामा सुदूरपश्चिमका राना मेलामा नेवारी खाजा देखि थारुका परिकार ढिकरी, गंगटाको मासु, लोकल कुखुराका परिकार, घोंगी, पहाडी समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारहरु राखिएका छन ।
त्यसैगरी मेलामा महिला उद्यमीहरुले घरमै बनाएका झोला, चप्पल, हातले बनाएका सामान, कपडा, दुना टपरी, फाइबरका घर सजावटका फूलहरु महोत्सवका आकर्षण रहेका छन । सीप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्देश्यले शनिवारे बजार सुरू गरिएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए ।
पहिलो दिन अर्थात् मंसिर १ गते राखेका ५६ वटा स्टलबाट दुईलाखको कारोबार भएको र दोस्रो दिन मंसिर ८ गते ६० वटा स्टल राखिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । मेलामा उद्यमी महिलाले उत्पादन गरेका सामाग्री र परम्परागत खानपानका स्टल रहेका छन् । मेलामा सस्तो र ताजा खानेकुराका साथै सांस्कृतिक कार्यक्रमले आफूलाई निकै रमाइलो लागेको स्थानीयय चेतराज जोशीले बताए ।
उनले भने, ‘शनिवार विदाको दिन भएकोले घरमै दिन कटाउन समस्या हुनेगरेको थियो । उद्यम मेलाले समय कटाउन र ताजा अर्गानीक खानेकुरा खान पाउँदा र सांस्कृतिक कार्यक्रम हेर्न पाउँदा खुसी लागेको छ ।’ जोशी मेलामा छोराछोरीसहित आएका थिए ।
मेलामा विभिन्न परम्परागत खाना तथा खाजाको परिकार बनाउन जान्ने महिलाका लागि आम्दानीको बाटो खुलेको मेलामा आएका उद्यमी महिलाको तर्क छ । महिलाहरूले समूहमा मिलेर समेत स्टल राखेका छन् । यस्तै मेलामा मेलामा नृत्य प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । मेलामा बालबालिकाले खेल्न मिल्ने प्ले–स्टेशनसमेत राखिएको छ । व्यवसाय प्रवृद्धनसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न आगामी दिनमा लाग्ने मेलामा तालिकाअनुसार विभिन्न कार्यक्रम गर्ने उपमहानगरले जनाएको छ ।
मेलामा खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत रहेको छ । धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिएको नगरप्रमुख हमालले बताए ।
‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनिवारे महिला उद्यम बजारको व्यवस्था गरिएको हो’, नगरप्रमुख हमालले भने, ‘महिलामात्र सहभागि हुन पाउने मेलामा आफूले जानेका परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिला सहभागि हुन पाउछन ।’ अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताए ।
स्कुले बालबालिका पनि खुसी
विभिन्न परम्परागत खाना तथा खाजाको परिकार बनाउन जान्ने महिलाका लागि आम्दानीको बाटो खुलेको मेलामा आएका उद्यमी महिलाको तर्क छ । महिलाहरूले समूहमा मिलेर समेत स्टल राखेका थिए । यस्तै मेलामा भएको सांस्कृतिक प्रतियोगिता भाग लिनआएका विद्यालयका बालबालिका समेत निकै खुसी देखिन्थे ।
धनगढी वडा नम्बर १६ को बेहडाबाबा माध्यमिक विद्यालयका छात्राहरूले पहिलो चोटी मेलामा आएको र निकै रमाइलो लागेको बताए । नृत्य देखाउन बेहडाबाबा विद्यालयबाट छात्राहरुको दुई समूह आएको थियो । धनगढीका १० वटा विद्यालयका विद्यार्थीहरूले नृत्य प्रतियोगितामा भाग लिएका थिए ।