काठमाण्डौं फेला परेकी संक्रमित कंचनपुर बेतकोट नगरपालिका– १० हरपाल गाउँकी ३३ बर्सिया महिला शसस्त्र प्रहरीको अवकाश प्राप्त जवान भएको खुलेको छ । हाल चन्द्रागिरी नगरपालिकाको मत्स्य गाउँको घरमा बस्दै आएकी उनी चैत ६ गते कान्छो देवरको ब्रतबन्धका लागि काठमाण्डौंबाट देवर सहित बेतकोट स्थित घर आएकी थिईन ।
त्यहाँबाट डडेलधुराको भागेस्वर गाउँपालिका लामकाडास्थित घरमा ब्रतबन्धका लागि जाने तयारीमै रहेको बेला लकडाउनका कारण बेतकोटमै बसेको पाईएको छ । लामो समयपछि सशस्त्र प्रहरीको गाडीमा मेडिकल टीम धनगढी आउदै गरेको जानकारी पाएपछि सशस्त्र प्रहरीको काठमाण्डौंस्थित अस्पतालमा कार्यरत उनका श्रीमानले उनलाई त्यही गाडीमा काठमाण्डौं फर्किने व्यवस्था मिलाएका थिए ।
उनी बैशाख २८ गते टेम्पोमा दुई बच्चा १४ बर्षीया छोरी र ९ बर्षीय छोरालाई साथमा लिएर अत्तरीया पुगेकी थिईन् । त्यहाँबाट साँझ उनका छोराछोरी सहित पाँच जना लिएर हिडेका उनीहरु राति कोहलपुरमा वास बसेका थिए । बैशाख २९ गते बिहानै कोहलपुरबाट हिडेका उनीहरु साँझ काठमाडौ पुगे ।
बाहिर जिल्लाबाट आउनेहरु नियमित जाँच प्रकृया अन्तर्गत सशस्त्र प्रहरीमा उनीहरु सबैको स्वास्थ्य परीक्षण समेत भएको थियो । गाडीमा रहेका चार जनाको रिपोर्ट नेगेटिभ आयो । उनको भने पोजिटिभ पाईयो । त्यसपछि उनलाई टेकुस्थित अस्पतालमा उपचारमा राखिएको छ । उनका श्रीमान काठमाण्डौंमा सशस्त्र प्रहरीको अस्पतालमा कार्यरत छन् । उनले भने शारिरिक अशक्तताका कारण समय भन्दा पहिले नै अवकाश पाएकी हुन् ।