सागर रावल - सुदूरपश्चिम, मध्यपश्चिम, कर्णालीका विपन्न बस्तीमा नारीहरू रजस्वाल भएका बेला छाउपडी गोठमा बस्ने प्रथा कायमै छ। छाउपडी प्रथाको छाप बसेको जिल्लामा सबैभन्दा अगाडि अछाम छ। यद्यपि अछाममा छाउपडी प्रथा अन्त्यको घोषणा नभएको होइन। जिल्लामा छाउगोठ नभएका घरहरू विरलै देख्न सकिन्छ। छाउपडी सामाजिक कुरीति, कुसंस्कार र धर्मको नाम जोडिएर नेपाली समाजमा पुर्खौँदेखि चल्दै आएको चलन हो। जुन आजभन्दा कैयौँ शताब्दीदेखि चल्दै आएका प्रथासँग जोडिन जान्छ। सती प्रथा, देउकी प्रथा, छाउपडी प्रथाजस्ता निर्दयी प्रचलन नेपाली समाजले एउटा धर्मको आडमा फैलाएर चलाइरह्यो जुन प्रथाले जरा गाढेर बसिरह्यो।
धेरै नारीहरूको मृत्युको मार्गसमेत रहेको छाउपडी प्रथा उस्तै छ। समाजले आज पनि एउटी नारीलाई छाउ हुनुपूर्व नारी र छाउ भए अलग व्यवहार गर्छ। छाउ भए सबैको खाना बनाउनु हुन्न, छाउ भए साथीसँग हिँड्न हुन्न, छाउ भए मन्दिरभित्र जान हुन्न, छाउ भए विवाह भोजमा उपस्थिति हुन पाइन्न, छाउ भए जुठो गर्नु हुन्न, छाउ भए मिठोमसिनो खान हुन्न। महिनावारी भएका बेला नारीहहरू यस्ता अनेक अधिकारबाट वञ्चित छन्।
समाजको यस्तो चलन लाखौँ नारीको ज्यान गुमाउने आधार बन्यो। छाउगोठमा बसेका कति नारी बलात्कारका सिकार भए। छाउगोठबाट कैयौँ नारी जनावरको सिकार हुन पुगे तर पनि समाजले धर्मसँग जोडेर कहिले टाढा राख्न सकेन। सम्झिँदासमेत दुःख र अप्ठ्यारो महसुस हुने नेपाली समाजका प्रथा, सबै जातजाति, भाषा धर्म संस्कृतिसँग सधैँ आस्थाका विषय बने। कानुन बने पनि समाजका लागि केही सम्भव हुन सकेन।
छाउ भए घरको आँगनमा समेत खुट्टा राख्न नदिने नेपाली समाज, आज उही छोरीको काख रित्तो बनाउने समाज, आफ्नो छोरीको सिन्दूर आफैँ पुछाउने समाज कहिले परिवर्तन होलारु देशमा राजतन्त्र, लोकतन्त्र, गणतन्त्र सबै स्थापना भए सबैले भाषणको नारासँग दाँज्ने भाँडो बनाए तर समाजको कुरीति, प्रथा, जातजातिबीचको विभेद कहिल्यै सुल्झाउन सकेन।
२०६५ सालमा छाउपडी प्रथा उन्मूलन गरिएको अछाममा प्रत्येक महिनामा थुप्रै घटना भइरहेका छन्। समाजको ऐनाजस्तै छर्लंग उतारिएको नारीहरूको जीवनसँग स्वयं घरको आमाबुबा दोषी देखिन्छन्। यसको पहिलो जड मानिन्छ यहाँको रीतिरिवाज र धर्मप्रतिको विश्वास जसले गर्दा हजारौँ नारी सिकार हुन पुग्छन्।पञ्चदेवल विनायक नगरपालिकामा मात्र एक वर्षभित्र दुईवटा घटनामा नारी पीडित भए। जिल्लाभरिमा एक वर्षभित्र १५ देखि २० वटा घटना भएका विवरण जिल्ला प्रहरीसँग छ।
एउटा शिक्षित नारी जुन छाउपडी प्रथाको विरोध गरेर शिक्षा हासिल गर्छ उही नारी त्यही समाजको छाउपडी गोठमा बसोबास गर्ने बाध्य भएको समाजमा हामीले देख्न सक्छौँ। हामी धर्मसँगको राजनीतिक नगरौँ देशको गलत कुप्रथाको बाटोहरूलाई पन्छ्याउनतिर लागौँ। आज एक नारीबाट सुरु भएको योजना र कार्यक्रम भोलि सबैको चासोको विषय बन्न सक्छ। सुदूर र कर्णालीको सामाजिक भौतिक जीवनयापन भेषभूषा पुरानो संस्कारसंस्कृति पहिले भन्दा बिस्तारै लोपोन्मुख हुँदै आएको छ। यस्ता प्रथाबाट समाजले उन्मुक्ति पाउने बाटो बन्न जरुरी छ।