बझाङ पहिरोः जेठाराले अरूलाई जोगाए, आफू हराए
2020/07/10, 8:20
 
pahiro

शुक्रबार राति १ बजेतिर केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो आयो । गाउँमा पहिरो आएको कुरा सबै भन्दा पहिले २२ वर्षीय गिरिजा जेठाराले थाहा पाए । उनले गाउँमा पहिरो आएको भन्दै कराउन थाले ।

‘जेठाराले सबैलाई उठाए, तर आफैं भाग्न पाएनन्’ बझाङका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले भने, ‘सबैलाई बचाउने उनै बचेनन् कि भन्ने चिन्ता छ ।’ शुक्रबार राति आएको पहिरोमा वेपत्ता भएका २२ वर्षीय जेठारा एक सातासम्म पनि भेटिएका छैनन् । पहिरोमा पुरिएका ६ जनाको शव शनिबार नै फेला परिसकेको थियो । आइतबारसम्म उनको अवस्था अज्ञात रहेपछि खोजी रोकिएको छ ।

‘दुई दिनसम्म खोज्दा पनि भेटिएन,’ प्रजिअ भण्डारीले भने, ‘पहिरोले बगाएर कता पु¥यायो । अब भेटिँदैन होला भनेर उद्धार टोली फर्किसक्यो ।’ घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने १८ परिवारको घर र जिन्सी सम्पत्ति पूर्ण रूपमा बगाएको छ ।