कैलालीको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति एवं आगामी योजनाबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र कैलाली( २ बाट निर्वाचित रास्वपा सांसद केपी खनालबीच छलफल भएको छ । शनिबार सिंहदरबारमा भएको छलफलमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतका अधिकारी पनि संलग्न थिए ।
अस्पतालको क्षमता वृद्धि लगायतका विषयमा छलफल भएको सांसद खनालले जानकारी दिए । विश्वविद्यालयको स्तरोन्नति र आगामी कार्ययोजनाका बारेमा विशेष छलफल भएको छ । अस्पतालको क्षमता विस्तार गरी हाल १०० बेडमा सञ्चालनमा रहेकोलाई ३०० बेडमा बिस्तार गरी सेवालाई थप प्रभावकारी बनाउनेबारे छलफल भयो, खनालले भने ।
त्यस्तै, नयाँ शैक्षिक कार्यक्रमहरूको सुरुवात कसरी गर्ने र आवश्यक स्रोत सम्बन्धमा पनि छलफल भएको छ । आवश्यक आर्थिक स्रोत २ अर्ब ५८ करोडको सुनिश्चितता गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएस ५० सिट, नर्सिङ ३० सिट, बीएस्सी एमएलटी २० सिट र नेत्र विज्ञानका २० सिट सञ्चालन गर्नेबारे पहल गरिएको उनको भनाइ छ ।
विश्वविद्यालयलाई चालु आर्थिक वर्षमा प्राप्त बजेट कार्यान्वयनको लागि पनि पहल गरिएको सांसद खनालको भनाइ छ । विश्वविद्यालयका लागि स्वीकृत भएको ४३ करोड बजेट सिनेट बैठक बस्न नसक्दा रोकिएको जानकारी शिक्षामन्त्रीलाई गराइएको थियो ।यथाशीघ्र सिनेट बैठक आयोजना गरेर उक्त बजेटलाई परिचालन गरिनेबारे छलफल भएको बताइएको छ ।