कैलाली जिल्लाका विभिन्न स्थानीय तहका बालबालिकाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ। धनगढीमा सम्पन्न दुईदिने जिल्ला भेलाले गोदावरी नगरपालिकाका दिलीप भट्टको अध्यक्षतामा १९ सदस्यीय जिल्ला बाल सञ्जाल गठन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बर्दगोरिया गाउँपालिकाकी निशाकुमारी न्यौपाने, सचिवमा रेविका रोकाया, सहसचिवमा टीकापुर नगरपालिकाकी अनुषा अधिकारी, कोषाध्यक्षमा गौरीगंगा नगरपालिकाका जीवन बोहरा तथा सहकोषाध्यक्षमा धनगढी उपमहानगरपालिकाकी युमना चौधरी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा लम्कीचुहाका प्रकाश न्यौपाने, जानकीका पुष्पराज जोशी, भजनीका कैलाश विक, टीकापुरकी लिसन ओड, कैलारीकी ममता जोशी, जोशीपुरका हरी जोशी, धनगढीकी सुजाता बराल, धनगढीका मातृकाप्रसाद उपाध्याय, गौरीगंगाकी पुष्पा बोहरा तथा चुरे गाउँपालिकाका टेकेन्द्र थापा चयन भएका छन्।
भेलाबाट विभिन्न पालिकाका बालबालिकाको सहभागिता सुनिश्चित गर्दै १६ सदस्य चयन गरिएको र बाँकी तीन सदस्य सम्बन्धित पालिकाको प्रतिनिधित्व हुने गरी मनोनयनमार्फत पूर्ति गरिने जनाइएको छ।
भेलाको आयोजना सामुदायिक विकास केन्द्र डोटीको सहजीकरणमा गरिएको थियो। कार्यक्रममा सहभागी बालबालिकाहरूलाई नेतृत्व विकास, बालअधिकार, सहभागिता तथा बाल संरक्षणका विषयमा अभिमुखीकरण समेत गरिएको आयोजकले जनाएको छ।
नवनिर्वाचित सञ्जालले जिल्लाभरका बालबालिकाको हक, हित, सहभागिता तथा नेतृत्व विकासका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।