सुदूरपश्चिम प्रदेशमा चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन र नियमनका लागि प्रदेश सरकारले छुट्टै चलचित्र नीति बनाउनुपर्नेमा सरोकारवाला तथा सिनेकर्मीहरूले जोड दिएका छन्। चलचित्र पत्रकार संघ कैलालीको आयोजना तथा जोडि एसोसियसनको सहकार्यमा धनगढीमा आयोजित सिने संवादको दोस्रो संसकरणमा सहभागीहरूले स्पष्ट चलचित्र नीति अभावका कारण प्रदेशमा चलचित्र छायांकन, निर्माण र लगानी अपेक्षित रूपमा अघि बढ्न नसकेको बताएका हुन्। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाले सुदूरपश्चिम चलचित्रका कथाका लागि अझै ‘भर्जिन’ क्षेत्र रहेको उल्लेख गर्दै यहाँका मौलिक कथा, संस्कृति, प्राकृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकिने बताए। उनले नयाँ कथाको खोजीमा रहेका निर्माताहरूका लागि सुदूरपश्चिम उपयुक्त गन्तव्य बन्न सक्ने धारणा राखे। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले सुदूरपश्चिमकै विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले प्रदेशमै कलाकार उत्पादन र प्रशिक्षणको वातावरण सिर्जना गर्नुपर्ने तथा स्थानीय पहिचान, भाषा, संस्कृति र इतिहासलाई चलचित्रमा समेट्न आवश्यक रहेको बताए। डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले स्थानीय पर्यटन प्रवद्र्धनका लागि चलचित्र प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आफ्नो पालिकामा छायांकन हुने चलचित्रलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले भीमदत्त पन्तलगायत सुदूरपश्चिमका ऐतिहासिक विषयमा चलचित्र निर्माण गर्न आग्रह गरे। चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामीले सुदूरपश्चिममा सिनेमा र सिनेकर्मी दुवैको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले चलचित्र नीति निर्माण गरी नयाँ प्रतिभालाई अवसर दिनुपर्ने बताए। थारु चलचित्रका निर्देशक तथा लेखक चन्द्र चौधरीले कैलाली–कञ्चनपुरका स्थानीय चलचित्र लोपोन्मुख अवस्थामा पुग्नु दुःखद भएको बताए। उनले लगानी अभावका कारण चलचित्र निर्माण प्रभावित भएको भन्दै सरकारी सहजीकरण आवश्यक रहेको धारणा राखे। नेपाल प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति सरस्वती दाहालले गीत, संगीत, साहित्य र चलचित्रमार्फत सुदूरपश्चिमको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने बताइन्। उनले भाषा, कला र संस्कृतिको संरक्षणका लागि चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले प्रदेशका नयाँ पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि चलचित्र महत्वपूर्ण माध्यम भएको बताए। अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले अपि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका चलचित्रलाई स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा कलाकार उमेश मायालु, चलचित्रकर्मी सञ्जीव रावल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष पुष्पराज जोशीलगायत वक्ताहरूले चलचित्र क्षेत्रको विकासका लागि स्पष्ट सरकारी नीति, पूर्वाधार, लगानी र अध्ययन–अनुसन्धान आवश्यक रहेको धारणा राखे। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चलचित्रलाई प्रदेशको कला, संस्कृति, धार्मिक पर्यटन तथा पुरातात्त्विक सम्पदाको प्रवद्र्धन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गरिने बताए। उनले प्रदेश चलचित्र विकास बोर्ड गठनका लागि आवश्यक छलफल अघि बढाइने र चलचित्रमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । चलचित्र पत्रकार संघ कैलालीका अध्यक्ष विवेक नागरिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोकुसिंह ठकुरीले गरेका थिए।