बाढीको उच्च जोखिम जिल्ला कैलालीमा प्राकृतिक विपद् व्यवस्थापनका लागि तीन तहको तयारी गरिएको छ । विपद्ब हुने क्षति घटाउने उद्देश्यका साथ स्थानीय तह, जिल्ला र प्रदेशबाट तयारी गरिएको हो । मनसुनमा जुनसुकै बेला बाढीले विपद् निम्त्याउन सक्ने भएकाले उद्धार तथा खोजका लागि तीन तहबाट तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
‘विपद्को सामना गर्न सबैको सामूहिक पहल आवश्यक हुन्छ’, सूचना अधिकारी शिवराज जोशीले भने । ‘त्यसैले तीन तहबाट तयारी गरिएको हो ।’ उनका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा स्थानीय व्यवस्थापन समिति गठन गरि सोही अनुसार तयारी गरिएको छ । विपद् आइ हालेमा स्थानीय स्तरमा सबैभन्दा पहिले प्रतिकार्य स्थानीय समितिले थाल्ने जनाइएको छ । तर, परिस्थिति स्थानीय व्यवस्थापन समितिको क्षमताभन्दा बाहिर जान थालेमा जिल्ला र प्रदेश स्तरीय व्यवस्थापन समिति पनि तुरुन्तै खट्ने बताइएको छ । यसैगरी, उद्धार तथा खोजमा खट्नका लागि तालिम प्राप्त जनशक्ति र डुङ्गा तयारी अवस्थामा राखेको जनाइएको छ ।
यो जिल्लाको भजनी नगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका जानकी, जोशीपुर तथा कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाको दक्षिणी भू–भाग उच्च जोखिम क्षेत्र मानिन्छ । चुरे क्षेत्रमा ठूलो वर्षा भएमा यी स्थानीय तहरुमा बाढी र डुवान समस्या निम्तिने गर्दछ । बाढी जोखिमलाई मध्यनजर गरेर जिल्लामा पूर्व सूचना प्रणालीलाई पनि चुस्त र प्रभावकारी बनाइएको सूचना अधिकारी जोशीले बताए । ‘बेलैमा सूचना नपाउँदा वा नगरिंदा ठूलो क्षति हुने गर्दछ’, उनले भने । ‘त्यसैले पूर्व सूचना प्रणालीलाई पनि व्यवस्थित बनाएका छौं ।’
जोशीका अनुसार जिल्ला प्रशासन कार्यालयमा गतविगतझै आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सूचना लिने÷दिने व्यवस्था मिलाइएको छ । यसैगरी, कर्णाली र मोहना नदीको पानीको सतह केन्द्रमा नै हेर्न सकिने व्यवस्था गरिएको छ । दुवै नदीमा पानीको सतह खतराको सङ्केतसम्म पुगेमा आफै ‘साइरन’ बज्ने गर्दछ । विपद् सम्बन्धी अन्य सूचनाहरुलाई जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्डमार्फत प्रसारण गर्ने व्यवस्था पनि मिलाइएको जोशीले जनाए ।
पूर्व सूचना प्रणालीका लागि कैलालीको २९ ठाउँहरुमा वर्षा तथा पानीको सतह मापन केन्द्र स्थापना गरिएको छ । माथिल्लो अर्थात चुरे क्षेत्रमा खतराको सङ्केतभन्दा माथिसम्म वर्षा वा पानीको सतह मापन भएमा तल्लो तटीय क्षेत्र अर्थात जोखिममा रहेका ठाउँका मान्छेलाई सतर्क रहन वा सुरक्षित ठाउँमा जान पूर्व सूचना दिइने गरिएको छ । पूर्व सूचना पाएका समुदाय बेलैमा सतर्क हुने गरेकाले ठूलो क्षति हुनबाट जोगिने गरेको रेडक्रस कैलालीका मन्त्री लोकराज जोशीले बताए । ‘पूर्व सूचना पाएका मान्छेहरु आवश्यक तयारीका साथ बेलैमा सुरक्षित स्थानमा गएमा मानवीय जीवन जोगिन्छ’, उनले भने । ‘यसकै कारण कैलालीमा मानवीय क्षति विगतकोभन्दा कम हुँदै गएको छ ।’
यसैगरी, रेडक्रसले खोज उद्धार र राहतका लागि आवश्यक सामग्री समेत तयारी अवस्थामा राखेको जनाइएको छ । जिल्लाको सबै स्थानीय तहमा जोखिम पहिचान गरेर आवश्यक तयारी गरिएको जोशीले बताए । ‘हामीले स्वयम् सेवक, उद्धार टिम, राहत सामग्री तयारी अवस्थामा राखेका छौं’, उनले भने । ‘विपद्मा जीवन बचाउनका लागि रेडक्रस तयारी अवस्थामा छ ।’