कोरोना परीक्षण किट अभाव भएपछि क्वारेन्टाईनमा बसेकाहरु भन्छन्– परीक्षण नगरेरै घर जान्छौं 
2020/05/14, 8:22
 
bajhang

भारतका विभिन्न शहरहरुबाट बझाङ पुगेर क्वारेन्टाईनमा बसेका स्थानीयहरुको परिक्षणका लागि किटको अभाव भएको छ । कोरोना परीक्षण किट अभाव हुँदा क्वारेन्टाईमा बसेकाहरुको परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारत तथा अन्य जिल्लाबाट आएका ५ सय ३२ जना जिल्लाका १२ वटै स्थानीय तहका क्वारेन्टाइनमा छन् । जसमध्ये विथ्थडचिर गाउँपालिकामा ९६ जना, केदार स्युँ गाउँपालिकामा २६ जना, बुंगल नगरपालिकामा ३ सय ८४ जना, छविस पाथिभेरा गाउँपालिकामा २६, खप्तड छान्ना गाउँपालिकामा ९ जना, सुर्मा गाउँपालिकामा ७ जना क्वारेन्टाईनमा रहेका छन्  । 

क्वारेन्टाईनमा बसेकाहरुले भने १४ दिनभित्र कोरोना परीक्षण नगरे परीक्षण विनै घर जाने चेतावनी दिएका छन । भारतका विभिन्न चार क्वारेन्टाइनमा करिब ३२ दिन बसेका उनीहरु बैशाख १८ गते बझाङ पुगेका थिए । अन्नबाली भित्र्याउने समयमा आफुहरु क्वारेन्टाइनमा बसेकाले खेतबारीमै अन्न खेर गएर भोकमरी हुने चिन्ताका कारण छिटो कोरोना परिक्षण गरेर घर पठाउनुपर्ने बुंगल नगरपालिकाका मानसिँह बोहराले बताए ।

अहिलेसम्म जिल्लाभरी ९ सय १७ जनाको आरडिटी परीक्षण गरिएको छ । जसमध्ये एक जनाको मात्रै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको  छ । भारतबाट आएका ती ३५ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि कैलाली पठाईएको छ ।