लकडाउनमा मौलायो काठ तस्करी
2020/05/14, 9:23
 
taskary

लकडाउनको समयमा कैलाली कञ्चनपुरमा काठ तस्करी मौलाएको छ । अधिकांश क्षेत्र बन्द भएको अवस्थामा काठ तस्करहरु सक्रिय भएका हुन् । तस्करी वढिरहेकै वेला वन डिभिजन कार्यालयहरुले भने सक्रियता वढाईरहेको जनाएका छन् । 

लकडाउनका समयमा कैलाली र कञ्चनपुरका वनमा हुने चोरी तस्करी रोकिन सकेको छैन्। कोरोनाको भाईरसको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले देशमा लकडाउन जारी गरेका बेला कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा चोरी तस्करी हुने क्रम बढेको हो। वन डिभिजन कार्यालय र सामुदायिक वनहरुको निष्क्रीयताको मौका छोप्दै तस्करहरुले सक्रियता बढाएका हुन।

तर लकडाउनको समयमा वन क्षेत्रमा बढ्दै गएको तस्करी बृद्धि हुँदै गएका बेला नियन्त्रणका लागि लागि परेको दावी डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीको छ। ‘लकडाउनपछि मात्र कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करीको एक सय ५० क्युफिट काठ बरामद गरिएको छ’, उनले भने, ‘विभिन्न सामुदायिक वनहरुबाट समेत ५० देखि ६० क्युफिट काठ मात्रै बरामद गरिएको छ।’

अहिले वन क्षेत्रमा हुनसक्ने चोरी सिकारीलाई मध्यनजर गर्दै गस्ती टोली समेत परिचालन गरिएको अवस्थीको दावी छ। यता कैलालीमा समेत डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पर्ने विभिन्न वनहरुबाट तस्कर भईरहेको अवस्थामा ६ सय क्युफिट भन्दा बढी काठ बरामद गरिएको छ। लकडाउनमा स्थानीयबासी सहित वनका कर्मचारीहरुको आवातजावात समेत रोकिएपछि तस्करी बढेको हो।

अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला यो अवधीमा भने झनै बढेको देखिएको छ। वनले ठुलो क्षेत्रफल ओगटेको कैलालीमा झनै तस्करी बढेको छ। तरपनि वन क्षत्र संरक्षणमा संक्रियताका साथ लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले बताए। ‘लकडाउनको समयमा चोरी तस्करी नहोला भन्ने सोचेका थियौं’, उनले भने, ‘वन कर्मचारीसंगै स्थानीयको पनि आवातजावत रोकिएपनि कतिपय स्थानबाट काठ तस्करी भईरहेको छ।’

विभिन्न ठाँउबाट तस्करी हुन लागेको काठ पनि करामद गरेको उनले बताए। वन कार्यालयहरुले नियमित रुपमा निगरानी संगै गस्ती गरिरहेको दावी गरेका बेला कैलाली र कञ्चनपुरमा रहेका राष्ट्रिय, साझेदारी तथा सामुदायिक वनहरुबाट काठ चोरी तस्करीलाई नियन्त्रण गर्न सकिएको छैन्। तर कैलालीकै डिभिजन वन कार्यालय धनगढीले समेत लकडाउनकै अवधीभर १५ सय क्युफिट काठ बरामद र आठ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए।

कैलाली कञ्चनपुरमा ठूलो मात्रमा रुख कटानी संगै तस्करी हुने गरेको भएपनि नियन्त्रण भने न्यून मात्रामा भईरहेको छ। लकडाउनको अवधीमा पनि वन कर्मचारी तथा समितका पदाधिकारीहरुकै संलग्नतामा तस्करी हुने गरेको आशंका गरिएको छ।

काठ तस्करी र तस्करहरु चोरी निकासी गरिरहेका वेला समाति समेत रहेका छन् । यसै बीच कैलालीमा अवैध काठ बरामद गरिएको छ । गौरीगंगा नगरपालिका वडा नम्वर ६ मैया स्थित समैजी सामुदायिक वन उपभोक्ता समुहको जंगलमा अवैध रुपमा कटान गरिएको काठ बरामद गरिएको हो ।

आरआईटीको समूहले ५ गोलिया काठ बरामद गरेको हो । काठ कटानमा स्थानीय मान बहादुर बिक र जगत आउजी फरार रहेको प्रहरीले जनाएको छ । तीन गोलिया काठ जंगलमा र २ गोलिया मान बहादुर विकको घरमा खाल्टोमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठ ईलाका वन कार्यालय चौमालाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।