सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण वृद्धि दरमा कमी आएको छ । भारतबाट फर्किनेको संख्या कम भएको र क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमण दरमा कमी आएको हो । भारतबाट फर्किनेहरुको लर्को लागेको बेला यो प्रदेशमा कोरोना सङ्क्रमण दर उच्च बनेको थियो । जेठ अन्तिमदेखि असार तेस्रो सातासम्म नयाँ सङ्क्रमितको सङ्ख्या झनै बढेको थियो । बाह्य मुलुकबाट आउनेको सङ्ख्या घटेसंगै नयाँ सङ्क्रमण दर पनि कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । ‘अहिले मुलुकभन्दा बाहिरबाट आउनेको सङ्ख्या घटेको छ’, उनले भने । ‘क्वारेन्टाइनमा पनि मान्छेको चाप घटेकाले नयाँ सङ्क्रमित फेला पर्नेक्रम कम भएको हो ।’
मुलुकभन्दा बाहिरबाट आउनेको चाप घटेसंगै स्वाब सङ्कलनमा पनि कमी आएको छ । यद्यपि, ‘कन्ट्याक्ट टे«सिङ’ भएका र शङ्कास्पद् व्यक्तिको स्वाब सङ्कलन र परीक्षण भने भइरहेको छ । तर, भारतबाट आउने व्यक्तिको स्वाब सङ्कलन र परीक्षणमा कमी आएको अवस्थीले बताए । ‘अब बाहिरबाट आएका व्यक्तिको परीक्षण लगभग सकिएको छ’, उनले भने । ‘तत्काल सबै जनताको परीक्षण गर्ने भने तयारी छैन ।’
प्रदेशको सामाजिक विकास मन्त्रालयको शुक्रबारको तथ्याङ्क अनुसार यो प्रदेशमा सङ्क्रमितको जम्मा सङ्ख्या तीन हजार ७७५ रहेको छ । जसमध्ये सोही दिनसम्म गरी एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । अब दुई हजार ५०८ जनामात्रै सक्रीय सङ्क्रमित रहेका छन् ।
जिल्लागत सङ्क्रमित
सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी ९९४ जनालाई कोराना सङ्क्रमण भएको छ । गौरीफन्टा नाका भएर भारतबाट फर्किनेहरु सबैभन्दा पहिले कैलालीमा प्रवेश गरेका थिए । यसैगरी, अछामका ५९२, डोटीका ५३५, बाजुराका ४५६ कञ्चनपुरका ४४३, बैतडीका २९३ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यस्तै, डडेल्धुरामा २६९, बझाङमा १५९ र दार्चुलामा १९ जनालाई कोरोना सङ्क्रमण भएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये एक जना बाहेक बाँकी सबै व्यक्तिको ‘ट्राभल हिस्ट्री’ बाहिरबाट आएको रहेको छ । जसमध्ये भारतबाट फर्केर आएका सबैभन्दा बढी रहेका छन् । ‘यो प्रदेशमा धनगढी एक महिलालाई सरेको बाहेक कोरोना समुदायमा सरेको छैन’, अवस्थीले भने । ‘सङ्क्रमित सबै बाहिरबाट आएका थिए ।’