मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भएपनि रोकथामका लागि केही पहल नहुँदा सो क्षेत्रका नागरिकलाई बर्षातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । विसं २०१८ देखि सुरु भएको पहिरोले नौ जनाको ज्यान लिएको तथा दुई सय रोपनी खेत बगाईसकेको छ । अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ । तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुम प्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीयवासी वीरसिंह भण्डारीले बताए ।
ठूलो पहिरो भएकाले हरेक वर्ष खस्ने गरेकाले पहिरोले बर्सेनि सताउने गरेको स्थानीय भोजराज जोशीले बताए । “कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन”, उनले भने, “वर्षा शुरु भयो कि पहिरोकै डर हुने गर्दछ ।” पहिरोकै कारण घर भत्कने अवस्थामा पुगेको स्थानीय लोगसिंह भाटले बताए । उनले भने, “आँगन नजिकैबाट पहिरो गएकाले निकै डर लाग्ने गर्दछ ।” अहिले पनि २०–२५ परिवार पहिरोको जोखिममा रहेका भाटको भनाइ छ ।
यस्तै पुर्चौंडी नगरपालिका–८ लामुनी पहिरोको सास्ती पनि उस्तै छ । पहिरोले प्रत्येक वर्ष नोक्सानी गर्ने गरेको स्थानीय गणेश साउदले जानकारी बताए । पहिरोका कारण खेतीयोग्य जमीन प्रत्येक वर्ष बग्दै गएको छ । उनले भने, “पहिरो नियन्त्रणका लागि करिब दुई करोड खर्च भइसकेको भए पनि पहिरोमुनि तटबन्ध निर्माण गरेको हुँदा तटबन्ध पनि पहिरोले बगाउने गरेको छ ।” यस्तै मेलौली नगरपालिकाको विशालपुरमा पनि पहिरोको जोखिम रहेको स्थानीय महेश भट्टले जानकारी दिए । उनले भने, “पहिरोका कारण प्रत्येक वर्षामा स्थानीयवासी डरमै बस्नुपर्ने अवस्था छ ।”
वर्षा शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको स्थानीयवासीले बताएका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ तर पनि धेरै स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन ।