सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको ४०२८ पुग्यो
2020/07/18, 4:42
 
corona

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा ११ र धनगढी प्रयोगशालामा ८ गरी १९ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा डोटीका सात, डडेल्धुरा र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा पाँच महिला र तीन पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का ४५ र ४८ बर्षीय पुरुष तथा धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का १९ र २४ बर्षीय महिला, वडा नम्वर १५ का २४ र २८ बर्षीय महिला र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ की ३१ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुइ सय ३७ जनाको कोरोना परीक्षण भएको श्रेष्ठले बताए ।

१९ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ५४, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ८६, कञ्चनपुरमा चार सय ६३, डडेल्धुरामा दुई सय ९५, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।  संक्रमित मध्ये झण्डै एक हजार ६ सय ७० सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।