धनगढीको राहत वितरण प्रकरणः दुई सय ६९ कट्टाको चामल कुहिएको भेटियो
2020/05/14, 6:33
 
chamal

धनगढी उपमहानगरपालिकाले राहत स्वरुप धनगढीको वडा नम्बर ४ वितरणका लागि राखिएका २ सय ६९ कट्टाको चामल कुहिएको फेला परेको छ । धनगढी उपमहानगरपालिकाले गठन गरेको छानविन समितिले १५ किलोको २ सय ६९ कट्टाको चामल कुहिएको फेला परेको हो । छानविन समितिका संयोजक वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी नेतृत्वको टोलीले वडा नम्बर ४  को गोदाममा राखिएको राहतको चामलको अनुसन्धानका क्रममा ३ सय ६७ कट्टा मध्ये २ सय ६७ कट्टाको चामल कुहिएको पाईएको हो । संयोजक अधिकारीले ८४ कट्टा भने राम्रो भएको जानकारी दिए ।


वडा नम्बर ४ मा वितरण गरिएका एक हजार दुई कट्टा मध्ये २ सय ६९ कट्टामा कैफियत देखिएको अधिकारीले बताए । धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३ सय ७ क्वीन्टल चामल आपूर्तिका लागि ठेक्का दिएको थियो । १९ वटा वडा मध्ये १८ वटा वडामा राहत बाडिसकिएपछि अन्तिममा वडा नम्बर ४ मा राहतको चामल वितरण गर्ने क्रममा कुहिएको चामल फेला परेको भन्दै स्थानीयले फिर्ता गरेका थिए ।


अधिकारीले १५ किलो र २० किलोका ६ सय÷६ सय कट्टा चामल बितरण गरिएकोमा १५ किलोका २ सय ६९ कट्टाको चामल कुहिएको पाईएको बताए । छानबिन समितिका संयोजक अधिकारीले अनुसन्धान भईरहेको बताए । उपमहानगरपालिकाले अधिकारीको नेतृत्वमा वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजय जोशी र कार्यपालिका सदस्य गीता पन्त सहितको छानबिन समिति गठन गरेको थियो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले राहतका लागि वितरण गर्न लागिएको चामलको नमूना संकलन गरेको छ ।

कार्यालयका प्रवक्ता दीपक कुँवरले शंकास्पद चामललाई तीन भागमा बाडेर सिलबन्दी कट्टाको नमूना संकलन गरिएको बताए ।आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले चामल खरिद प्रकृयासँग सम्बन्धित सबै कागजातहरु धनगढी उपमहानगरपालिकाबाट लगेर अनुसन्धान शुरु गरेको छ ।