प्रदेश सरकारको ठहरः समयमा अख्तियारी नपुग्दा समस्या
2020/07/19, 6:21
 
sarkar

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समय मै आफू मातहतका कार्यालयलाई अख्तियारी पठाउने बताएको छ । आईतबार गत आर्थिक वर्षको समीक्षा गर्दै प्रदेश सरकारले समयमा अख्तियारी नपुग्दा समस्या भएको ठहर गरेको छ ।

प्रदेश सरकारको समीक्षापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले कार्य विधि बनाएर बनाएर चाँडै अख्तियारी पठाउने बिषयमा छलफल भएको बताए । आर्थिक बर्ष २०७६÷०७७मा ७१ प्रतिशत पुँजीगत बजेट खर्च गरेको उनले जानकारी दिए । सीमित स्रोत र साधन हुँदा पनि गत आर्थिक वर्षमा सरकारले बजेट खर्च बढाएको बताएका थिए ।

उनले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा आर्थिक वृद्धिदर पनि बढेको बताए । गत आर्थिक वर्षमा कर्मचारीको अभाव र कानुन कार्यान्वयन समस्या हुँदा केहि समस्या भएको उनले बताए । संघीय सरकारले अधिकार हस्तान्तरण ढिलाइ हुँदा समस्या भएको उनको भनाइ थियो । ‘अहिले सम्म प्रदेश लोक सेवा आयोग गठन गर्न सकेका छैनौँ’ उनले भने ‘अब लोक सेवा आयोगबाट कर्मचारी भर्ना गरेर प्रदेशलाई विकासको गति बढाउँछौँ ।’

सघीय सरकारले प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउन साथ राजधानी कार्यान्वयनमा गरिने उनले बताए । कोरोना नियन्त्रणमा पनि प्रदेश सरकार सफल भएको उनको दाबी छ ।