सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१२७, कुन जिल्लामा कति ?
2020/07/21, 7:48
 
corona

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेल्धुरा, धनगढी र शिक्षण अस्पतालमा भएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरामा भएको परीक्षणमा डोटीका चार जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका एक जनामा कोरोना पुष्टि भएको उनले बताए । यता धनगढीमा भएको परीक्षणमा सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरको बेदकोट नगरपालिकाका सात पुरुष र चार महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका तीन पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का दुई पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको उनले बताए । उता बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का दुई महिला र एक पुरुष तथा छव्वीस पाथिभेरा गाउँपालिका वडा नम्वर ६ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । 
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय २७ पुगेको छ ।

संक्रमण पुष्टि भएका दुई हजार एक सय २९ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका चार सय ८३, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७७ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।