सुदूरपश्चिमका २२०२ कोरोना संक्रमित निको डिस्चार्ज, डोटीका सवैभन्दा वढी ५३५ जना घर फर्किए
2020/07/22, 6:58
 
corona

सुदूरपश्चिमका आधा भन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दुई हजार दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार मंगलवार मात्रै अछाम जिल्लाका ७३ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ३५, अछामका पाँच सय नौँ, कञ्चनपुरका चार सय ८२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।
कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ८ सय ६० जनाको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा एक हजार नौँ सय १७ वटा एक्टिभ केस रहेका छन । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, डोटी अस्पतालमा दुई र सेती अस्पतालमा एक जना गरी ५५ जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार एक सय २७ पुगेको छ ।