धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि
2020/07/22, 4:07
 
corona

सुदूरपश्चिममा थप ७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको कोरोना परीक्षण भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ का चार बर्षीया बालिका र २४ बर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्वर ४ का २२ बर्षीया युवती र ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

बझाङको छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का २० बर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । सात जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ३४ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार दुई सय दुई जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौँ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३०, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका चार सय ८७, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७८ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।