सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१४२ पुग्यो
2020/07/22, 4:49
 
corona

बुधवार सुदूरपश्चिमका थप १५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात र डडेल्धुरा प्रयोगशालामा ८ गरी थप १५ जनामा कोरोना पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालामा डोटीका सात र बझाङका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

यता सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको कोरोना परीक्षण भएकोमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जना गरी सात जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवतीमा कोरोना पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ का चार बर्षीया बालिका र २४ बर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्वर ४ का २२ बर्षीया युवती र ५२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

बझाङको छव्विस पाथीभेरा गाउँपालिका वडा नम्वर ६ का २० बर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । थप १५ जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार दुई सय दुई जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौँ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ३७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका चार सय ८७, डडेल्धुराका दुई सय ९७, बैतडीका दुई सय ७६, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।