सुदूरपश्चिममा कोरोना संक्रमितको संख्याः जानकार भन्छन्– ‘पीसीआर परीक्षणको दायरा घटेको हो, संक्रमण होईन’
2020/07/22, 7:51
 
corona

सुदूरपश्चिममा वुधवार १५ जनामा कोरोना संक्रमणको पुष्टि भयो । योसँगै संक्रमित हुनेको संख्या चार हजार एक सय ४२ पुगेको छ । यसअघि असार मसान्तसम्म संक्रमितको संख्या चार हजार रहेको थियो । पछिल्लो एक सातामा एक सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
सुरुवाती दिनमा कोरोनाबाट संक्रमित हुनेको संख्याको तुलनामा सञ्चो भएर घर फर्किनेको संख्या न्यून हुन्थ्यो । तर अचेल भने संक्रमित हुनेको संख्या न्यून हुदै गएको छ । र सञ्चो भएर घर जानेको संख्या धेरै छ ।

हालसम्म ५० प्रतिशतभन्दा बढी संक्रमितहरु उपचारपछि सञ्चो भएर घर गईसकेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार दुई हजार दुई सय दुई जना कोरोना संक्रमितहरु सञ्चो भएर घर फर्किसकेका छन् । पछिल्लो दुई साताको आकडाँलाई आधार मान्ने हो भन्ने सुदूर पश्चिममा संक्रमितको संख्या प्रतिदिन कम देखिन थालेको छ । एक महिनाअघिसम्म परीक्षण गरिएका स्वावमा ७५ प्रतिशत सम्ममा संक्रमण पाईने गरेको थियो । अझ कतिपय स्थानीय तहको स्वावको नमूना परीक्षणका लागि आएको दिन प्रयोगशालामा कार्यरत प्राबिधिकहरुको पूर्वानुमान हुन्थ्यो, आज त संक्रमितको संख्या निकै थपिने भयो । तर तीनै स्थानीय तहबाट परीक्षणका लागि आउने स्वावका नमूनालाई अचेल प्राविधिकहरुले सामान्य रुपमा लिन थालेका छन् ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बिगतमा सबभन्दा जोखिममा रहेका स्थानीय तहमा अचेल संक्रमणको जोखिम कम हुदै गएको पाइएको बताए । कतिपय यस्ता स्थानीय तहहरु थिए । जहाँबाट स्वाव परीक्षणका लागि आउँदा संक्रमितहरुको संख्या उल्लेख्य थपिने भयो भनेर हामीले अडकल गथ्र्यौ, शाहीले भने, तर अब त्यो अवस्था रहेन । प्रयोगशाला प्रमुख शाहीले पीसीआर परीक्षण गर्नुपर्नेहरु दायरामा नआएको र परीक्षण गर्न नपर्नेहरुको परीक्षण भएकोले पनि संक्रमितहरुको संख्या कम देखिएको हुन सक्ने बताए ।

सुदूर पश्चिममा के संक्रमणको जोखिम कम भएको हो ? के संक्रमितहरुको संख्या घटेको हो ? यस्तो जिज्ञासामा सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयनका निर्देशक डाक्टर गुणराज अवस्थीले भने, पीसीआर परीक्षण गर्ने दायरा कम भएको हो । संक्रमित हुनेको संख्या घटेको होईन । डाक्टर अवस्थीले विगतका तुलानामा कोरोना परीक्षण गर्नेहरुको समूह र वर्ग पनि फरक भएकोले संक्रमितहरुको संख्या कम देखिएको बताए । संख्या कम देखिदैमा संक्रमणको जोखिम कम भयो भन्न मिल्दैन । डाक्टर अवस्थीले भने, जोखिममा रहेका सबैलाई पीसीआरको दायरामा ल्याएपछि मात्र वास्तविक अवस्था बाहिर आउने छ ।

सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डाक्टर निराजनदत्त शर्माले पनि संक्रमित हुनेको संख्या कम भएपनि कोरोना संक्रमणको जोखिम अझै कम नभएको बताए । भारतबाट आएका र  संक्रमितहरुको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको पीसीआर परीक्षण हुन नसकेका कारण पछिल्लो केही समययता संक्रमण हुनेको संख्या कम देखिएको हुन सक्ने डाक्टर शर्माले बताए । पीसीआरको परीक्षण गरिनु पर्नेहरुको परीक्षण भएको छैन । परीक्षण गर्न आवश्यक नभएकाहरुको धमाधम पीसीआर परीक्षण भयो, डा. शर्माले भने, संक्रमणको जोखिम घटेको होईन । पीसीआरको दायरा घटेको हो । 

कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र लम्की चुहा नगरपालिका, डोटी शिखर नगरपालिका, केआईसिंह  गाउँपालिका, डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका, अछामको चौरपाटी गाउँपालिका लगायत स्थानीय तह कोरोनाको उच्च जोखिममा थिए । तर पछिल्लो समय यी स्थानीय तहमा समेत संक्रमण हुनेको संख्या कम भएको छ । डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुषालले पीसीआर परीक्षण बिना नै घर गएका क्वारेन्टाईनमा रहेका व्यक्तीहरुलाई पीसीआरको दायरामा ल्याएपछि मात्र कोरोनाको जोखिमको आकलन र वास्तविक अवस्था पत्ता लाग्ने बताए ।