कुहिएको चामल प्रकरणपछि नागरिक संघ संस्थाहरुको ध्यानाकर्षण– राहत वितरणमा यस्ता कार्यहरु नदोहोरियोस् 
2020/05/15, 8:38
 
chamal

कैलालीका नागरिक संघ संस्थाहरुले धनगढी उप–महानगरपालिकामा कुहिएको चामल राहतमा वितरण गरिएको घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । कैलालीका विभिन्न ६ वटा नागरिक संघ संस्थाहरुले एक विज्ञप्ती जारी गर्दै घटना प्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ मा राहत वितरण गर्दा कुहिएको र किरा परेको चामल वितरण गरिएको पाईएकोले यस्ता घटनाहरु अन्यत्र हुन नदिन नागरिक संघ संस्थाहरुले धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका छन् । जारी संयुक्त विज्ञप्तीमा भनिएको छ– आगामी दिनमा राहत वितरणमा यस्ता कार्यहरु नदोहोरिन दिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाह, गैरसरकारी संस्था महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष देवीप्रसाद खनाल, फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द राना, उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भवानी चलाउने, खाद्य अधिकार सञ्जाल सुदूरपश्चिमका संयोजक वलवहादुर रोकाया, खाद्य अधिकार सञ्जाल कैलालीका संयोजक धनपति ढुंगेल र याक नेपालका कार्यकारी निर्देशक डवल बमले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।