सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ४१७७ पुग्यो
2020/07/23, 4:57
 
corona

बुधवार सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका तीन पुरुष र दुई पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ५८ जनाको कोरोना परीक्षण गरिएको थियो । 

उता डडेल्धुरामा गरिएको परिक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीका सात र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । थप ३५ जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौँ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ४४, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय १३, डडेल्धुराका दुई सय ९९, बैतडीका दुई सय ७६, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।