सुदूरपश्चिममा आत्महत्याः एक महिनामा ४५ जनाले गर्छन आफैं आत्मदाह
2020/07/24, 5:21
 
suside

सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्या बन्दै गएको छ । पछिल्लो चार बर्षको तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको हो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा एक महिनामा कम्तिमा ४५ जनाले आत्महत्या गर्ने गरेका छन् । 
आर्थिक बर्ष २०७३÷०७४ मा ४ सय ३२ जनाले आत्महत्या गरेकोमा २०७४÷०७५ मा ४ सय ९९ र २०७÷०७६ मा चार सय ९० जनाले आत्महत्या गरेका थिए ।

गत आर्थिक बर्ष २०७६÷०७७ मा पाँच सय ४४ जनााले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक रहेको छ । कार्यालयका अनुसार दुई सय ६३ महिला र दुई सय ८१ जना पुरुषले आत्महत्या गरेका हुन । झण्डै दुई सय जनाले भने कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लकडाउनको अवधिमा आत्महत्या गरको छन् । लकडाउनको अवधिमा पनि महिलाभन्दा आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ ।

आत्महत्या गर्ने सुगममा बढी 
सुदूरपश्चिम प्रदेशमा सवैभन्दा सुगम जिल्ला कैलाली हो भने सबैभन्दा दुर्गम बाजुरा हो । बाजुरा जिल्ला त मानव विकास सुचाङकमा देशभरीमा ७७ औँ जिल्लामा छ । तर आत्महत्याको दर हेर्दा भने दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ । सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबैभन्दा बढी कैलालीमा आत्महत्या गर्नेको सङख्या छ । गत आर्थिक बर्षमा प्रदेशभरी पाँच सय ४४ जनाले आत्महत्या गरेकोमा सबैभन्दा बढि कैलालीमा एक सय दुई महिला र एक सय २१ पुरुष गरी दुई सय २३ जनाले आत्महत्या गरेका छन् । तर बाजुरा जिल्लामा भने ११ महिला र सात पुरुष गरी १८ जनाले मात्रै आत्हत्या गरेका छन् । यो तथ्याङकले शहरमा आत्महत्याको दर बढि रहेको देखाउँछ । 

यस्तै कञ्चनपुरमा ७३ महिला र ८५ पुरुष गरी एक सय ५८ जना, अछाममा १३ महिला १५ पुरुष गरी २८ जना, डोटीमा १० पुरुष र १६ महिला गरी २६ जना र बैतडीमा १७ महिला र ८ पुरुष गरी २५ जनाले आत्महत्या गरेका छन् । बझाङमा १५ महिला र ८ पुरुष गरी २३ जना, दार्चुलामा १२ महिला र १० पुरुष गरी २२ जना र डडेल्धुरामा १० महिला ११ पुरुष गरी २१ जनाले आत्महत्या गरेका छन् । ‘आत्महत्या बिकराल समस्यामाको रुपमा देखा परेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले भने, ‘शहरमा जिविका चलाउन समस्या हुन्छ । सोही कारणले निराशा उत्पन्न भएर आत्महत्यालाई रोज्ने गरिएको छ ।’ उनले आत्महत्याको प्रमख कारण भने तनाव नै भएको बताए । शहर बजारमा हुने अभाव र गरीबीले थिचिएर पनि धेरैले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाई छ । 

अवैध सम्वन्ध
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विगतको भन्दा पछिल्लो समय आत्महत्याको कारण पनि फेरिएको बताए । ‘हिजोसम्म एउटा गरिवी र अर्को असफलता नै आत्महत्याको मुख्य कारण थियो ।’ डिआइजी सुवेदीले भने, ‘अहिले विभिन्न कारणले मान्छे डिप्रेसनमा जानेर सोही कारणले आत्महत्या रोज्ने क्रम बढेको छ ।’ उनका अनुसार डिप्रेसनमा जानुको कारण कार्य असफलता र गरिवी मात्रै होईन् । ‘लकडाउनका कारण बेरोजगारी बढ्यो र एउटै ठाउँमा बस्नुपर्ने बाध्यता बन्यो ।

यस्ले पनि डिप्रेसनको समस्या बढेको छ । त्यस्ले आत्महत्या पनि बढाएको छ ।’ उनले भने । पहाडी जिल्ला र ग्रामीण क्षेत्रको तुलनामा सहरमा आत्महत्या बढी हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ । शहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवा युवतीहरुले आत्महत्याको बाटो रोजेको पाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

दुरुत्साहनमा मुद्दा बढे
प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुबेदीले बताए । ‘आत्महत्याका घटना मध्ये झण्डै २० प्रतिशत घटनामा दुरुत्साहन मुद्दा परेको छ,’ उनले भने, ‘अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो ।’ दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।