राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले दोस्रो दिन पनि छानविन र अनुगमनको काम जारी राखेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले दोस्रो पनि आफ्नो कामलाई निरन्तरता दिएको हो ।
दोस्रो दिन अनुगमन समितिले वडा नम्वर ५ का वासिन्दालाई वितरणका लागि सामुदायिक प्रहरी कार्यालयमा राखिएको चामलको अनुगमन गरेको छ । अनुगमनका क्रममा वडा नम्बर ५ का लागि राखिएको चामल समेत कुहिएको र किरा परेको फेला परेको छ । वडा नम्वर ५ मा १५ किलो तौल भएका कठ्ठा चामल कुहिएको फेला परेको हो । १५ किलोका ८ सय ८७ कठ्ठा चामल कुहिएको र किरा परेको भेटिएको छानविन समितिले जनाएको छ । ८ सय ८७ पोकामा १३ हजार तीन सय पाँच किलो चामल कुहिएको भेटिएको छानविनले जानकारी दिएको छ ।
छानविन समितिले पहिलो दिन वडा नम्बर ४ को गोदाममा अनुगमन गरेको थियो । वडा नम्वर ४ मा मात्रै २ सय ६९ पोका चामल कुहिएको फेला परेको थियो । छानविन समितिलाई तीन दिन भित्रै प्रतिवेदन बुझाउन समय सीमा दिईएको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।