सुदूरपश्चिमका ५६ जना कोरोना संक्रमित मात्रै अस्पतालमा
2020/07/25, 7:08
 
corona

सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । बाँकी एक हजार ८ सय ८१ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन् । सामाजिक मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ ।

प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत पाँच दिनदेखि खाली रहेको छ ।  सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दुई हजार दुई सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार शनिवार कञ्चनपुर जिल्लाका १६ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ । कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार एक सय ८५ पुगेको छ ।