सुदूरपश्चिममा एकैदिन ४५५ कोरोना संक्रमित डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या २७५१ जना पुग्यो 
2020/07/27, 8:43
 
corona

सुदूरपश्चिम प्रदेशमा थप चार सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आईतबार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट चार सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन । 

मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सबैभन्दा बढि कैलालीका दुई सय ८७ र बाजुराबाट एक सय ६८ जना डिस्चार्ज भएको जानकारी दिए । आईतबार चार सय ५५ जना डिस्चार्ज भएसँगै सुदूरपश्चिममा कोरोना जितेर आईसोलेसन तथा क्वारेन्टिनबाट घर फर्किनेको संख्या दुई हजार सात सय ५१ पुगेको छ ।

प्रदेशमा एक हजार चार सय ७५ एक्टिभ केस रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ भने ८ जनाको मृत्यु भईसकेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ६ सय ६२, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको छ ।