सुदूरपश्चिमका ६६ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए
2020/07/28, 6:58
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार आठ सय १९ जना डिस्चार्ज भएका छन् । सोमवार थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कञ्चनपुरबाट ३४ र कैलालीबाट पनि ३४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार ८ सय १९ पुगेको छ । यो कुल संक्रमितको ६६ प्रतिशत हो । 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कैलालीका चार सय ५९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ । बाजुरा एक सय ७०, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन्। ८ जनाको भने मृत्यु भईसकेको छ । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई÷दुई जना गरी ५३ जनाको उपचार भईरहेको छ ।

प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने खाली रहेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार दुई सय ४७ पुगेको छ ।