सुदुरपश्चिममा कोरोना भाइरस देखिएको चार महिना, यी हुन् प्रदेशका मृत्यु भएका १० संक्रमित
2020/07/28, 10:11
 
corona

सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण पुष्टि भएका पुरुष भेटिएको चार महिना पूरा भएको छ । गत चैत १४ गते सुदुरपश्चिममा पहिलो कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी दुवईबाट रोजगारी गरी फर्किएका पुरुष रहेका थिए । उनी धनगढी पुगेपछि गरिएको परीक्षणमा कोरोना संक्रमण भएको  पुष्टि भएको थियो ।

यो चार महिनाको अवधिमा सुदुरपश्चिममा चार हजार दुई सय ५७ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये १० संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सुदुरपश्चिममा कुल संक्रमितमध्ये दुई हजार आठ सय १९ जना निको भएर घर फर्किएका छन् । सुदुरपश्चिममा १० जना मृत्यु भएका व्यक्तीमा कोरोना पोजेटिभ देखिए पनि उनीहरुको मृत्युको कारण कोरोना नै हो वा अन्य भन्ने चाही स्पष्ट भएको छैन । त्यसमा तीन जनाले आत्महत्या गरेका छन् । 

मृत्यु भएका मध्ये अधिकांश व्यक्तीमा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ भने कतिपय मृत्यु भएका व्यक्तीलाई के समस्या थियो भन्नेबारे खुलाइएको छैन । मृत्यु भएका मध्ये अधिकांशलाई कलेजो सम्बन्धी समस्या, निमोनिया, सेप्सिस, दीर्घ श्वास प्रश्वास, क्यान्सर, मिर्गौला सम्बन्धी रोग, मधुमेह लगायतका समस्या देखिएका छन् । यीमध्ये धेरैको भने मृत्यु पछि मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ ।

सुदुरपश्चिममा कोरोना पुष्टि भएका १० मृत्युमध्ये कसलाई के समस्या थियो ?
१. बाबु आमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टिनमा रहेकी दुई वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो । उनलाई निमोनिया भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२. धनगढी ४ की मृगौलाको समस्या भएकी ५५ वर्षकी महिलाको सेती अस्पतालमा डायलसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो । उनको जेठ २४ गते कोरोना पुष्टि भएको थियो ।
३. बाजुरामा भारतबाट आएका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरे । आत्महत्यापछि गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी दमको बिरामी रहेका थिए । 
४. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भएको थियो । उनलाई भने के समस्या थियो त्यो पत्ता लागेको छैन् । स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पतालमा लगिएको थियो । न भारत, न तेस्रो मुलुकबाट आएका उनी केही महिनायता घरबाट निस्किएका थिएनन् ।
५. असार २ गते कैलालीको लम्की चुहाकी ४३ वर्षकी महिला मृत्यु भएको थियो । टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असार ३ गते आएको पिसिआर रिर्पोटमा कोरोनाको पुष्टि भएको थियो ।
६. असार १३ कैलालीको गोदावरी नगरपालिक का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।
७.अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो । स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । उनी मधुमेहका बिरामी थिए । मृत्युपछि नमुना परीक्षण गर्दा १६ असारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
८. कोरोना रिपोर्ट पोजेटिभ आएपछि बझाङका युवकले असार १९ गते आत्महत्या गरे । बझाङको खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर ७ मा होमआइसोलेसनमा रहेकोमा कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले आत्महत्या गरेका हुन् ।
९.अछाम घर भएर बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार क्वारेन्टिनमा रहेका युवकले साउन १२ गते आत्महत्या गरे । उनको कोरोना रिर्पोट पोजेटिभ आयो । भारतबाट आएर कैलाली हुँदै बर्दिया पुगेका उनको आत्महत्या गर्नुअघि स्वाब संकलन गरिएकोमा रिर्पोट पोजेटिभ आयो । अछामको बन्नीगढी गाउँपालिका घर भएका उनको नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको छ । 
१०. सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको साउन १२ गते कोरोना संक्रमणले मृत्यु भयो । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा बस्दै आएका झण्डै ५० बर्षीय पुरुषको मृत्यु भयो । उनको सोमवार मृत्यु भएको हो । उनी मृगौलाका समेत बिरामी थिए भने केही दिन अघि मात्रै कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । मृतकका दुई छोरा र दुई छोरी छन् । उनी परिवारसहित भारतमा बस्दै आएका थिए ।