सुदूरपश्चिममा थप ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३२७  पुग्यो 
2020/07/28, 5:19
 
corona

सुदूरपश्चिममा थप ८० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनाा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको हो । 

यता सेती प्रादेशिक अस्पतालयमा पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चार जनामा कोरोना पुष्टि भएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो ।