कैलालीका पुष्करनाथ ओझालाई कारबाही गरेकोमा रामचन्द्र पौडेलको आपत्ति
2020/07/30, 2:16
 
rajniti

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनुशासन समितिले नेताहरूलाई गरेका कारबाहीप्रति आपत्ति जनाएका छन् । कैलालीका पुष्करनाथ ओझामाथि पाँच वर्ष पार्टी सदस्यतासमेत नरहने गरी गत शनिबार अनुशासन समितिले गरेको कारबाहीप्रति पौडेलले आपत्ति जनाएका हुन् । ओझा पौडेल पक्षका नेता हुन् ।

ओझामाथि कैलालीमा नेतृ आरजु राणा देउवामाथि चुनाव हराउन भूमिका खेलेको आरोपमा अनुशासन समितिमा उजुरी थियो । ‘ओझालाई स्पष्ट आधार र कारण बिना बागी उम्मेदवारसँग जोडेर विधानको दफा ३५ बमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन कारबाही गर्नु अनुशासन समितिको नियत र कार्य क्षमतामाथि गम्भीर प्रश्न उठेको छ,’ पौडेलले भनेका छन ।

पौडेलले विगत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा बागी उम्मेदवारी दिने व्यक्तिलाई कारबाही नगरेको पनि उल्लेख गरेका छन् । पौडेल विरूद्ध तनहुँमा उम्मेदवारी दिएका गोविन्दराज जोशीलाई पनि कांग्रेसले ५ वर्षका लागि कारबाही गरेको छ ।